श्रीमतीसगँ अनैतिक सम्बन्धको आशंकामा मोरङमा प्रहरीका हवल्दारले गरे भारतीयमाथि छुरा प्रहार

बुधबार, २१ चैत्र २०८०
विराटनगर । मोरङमा नेपाल प्रहरीका सहायक हवल्दारले छुरा प्रहार गर्दा एकजना भारतीय नागरिक घाइते भएका छन् । सहायक हवल्दार दुसेन्त राजवंशीले छुरा प्रहार गर्दा भारतको अररियास्थित जोगवनी–८ का ३१ वर्षीय मोहमद सलमान घाइते भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति ८ः५० बजेतिर छुरा प्रहार भएको डीएसपी जोशीले बताए । छुरा प्रहारबाट सलमानको घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेको छ । बूढीगंगाको विराट शिक्षण अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको डीएसपी जोशीले बताए । उनका अनुसार छुरा प्रहार गर्ने सहायक हवल्दार राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । विराटनगर महानगरपालिका–२ घर भएका राजवंशीको दरबन्दी विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी गण हो । उनी विराटनगरको आयल निगमरस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए । राजवंशीले ससुराली घरनजिक सलमानमाथि छुरा हानेका हुन् । उनकी श्रीमतीको माइती बूढीगंगा हो । प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको देखेपछि राजवंशीले सलमानमाथि छुरा प्रहार गरेको खुलेको छ । घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानबाट पत्ता लाग्ने जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार