दमकमा होटेल जल्दा लाइफलाइन अस्पतलमा पनि क्षति, डायलिसिस सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

बुधबार, २८ चैत्र २०८०
झापा / झापाको दमक –५ मा रहेको लाइफलाइन अस्पतालसँगको एक होटेलमा मङ्गलवार राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । अझै पनि यकिन क्षतिको विवरण प्राप्त हुन सकेको छैन । लाइफलाइन अस्पताल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटलबाट साँझ ७ बजेतिर आगलागीबाट उनीसहित अन्य दुई वटा होटेलमा क्षति पुग्यो । यस्तै सँगै जोडिएको लाइफलाइन अस्पतालको हेमोडाइलोसिस भवन र उपकरणहरूमा पनि क्षति पुगेको छ । मङ्गलवार साँझ ७ बजे झापाको दमक ५ स्थित लाइफलाइन अस्पतालको दक्षिणपट्टि रहेको प्रेमबहादुर धिमालको स्नेहा होटलबाट आगलागी सुरु भएको थियो । आगो निभाउन तत्कालै दमक नगरपालिकाका २ वटा दमकल परिचालित पनि भएका थिए । तर, आगो निक्कै फैलिएकाले नियन्त्रणमा लिन सम्भव भएन । त्यसपछि आगो निभाउन दमक नगरपालिकासँगै कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, गौरादह नगरपालिका लगायतबाट ६ वटा वारुण यन्त्रसहित अग्नी नियन्त्रक टोली परिचालन गर्नुपर्‍यो । उनीहरूलाई साथ दिँदै थिए दमक प्रहरीको टोली र सशस्त्र प्रहरीको टोली अनि स्थानीयवासीले । आगोले नजिकै रहेका अन्य दुई वटा होटेलमा पनि क्षति पुग्यो । आगो लाग्दै गर्दा निजकै रहेको लाइफलाइन अस्पतालमा पनि कोलाहल मच्चियो । आगलागी सुरु भएकै घरसँग जोडिएको होमे डायलिसिस कक्षमा बिरामीहरू थिए । अत्तालिएर उनीहरुलाई पनि बाहिर निकालिएको लाइफलाइन अस्पताल अन्तर्गतको दमक रोटरी डायलिसिस सेन्टरका कर्मचारी अञ्जना राईले बत्ताइन । “एकै छिन बाहिर निस्किएको थिए, सबैतिरबाट हो–हल्ला सुने, माथि पुगेर हेर्दा आगोको लप्काले आमालाई भेट्न लाग्या रहेछ अनि हतार हतार आमालाई डायलिसिस गराउँदा गराउँदै भए पनि बाहिर निकालेर इमरजेन्सी वार्डतिर पुर्‍याए ।” दमक ८ बाट आमालाई डायलिसिस गराउँछ अस्पताल पुगेका रुपेन्द्र सिटौलाले सुनाए । दमकमा नियमित डायलिसिस गराउँनेहरुका लागि यही एउटा हेमोडायलासिस सेन्टर थियो । नियमित ५० जनालाई डायलिसिस गराउँदै आएको यो सेन्टरमा आगलागीले क्षति पुर्‍याएपछि अब बिरामीलाई थप समस्या हुने देखिएको लाइफलाइन अस्पताल अन्तर्गतको दमक रोटरी डायलिसिस सेन्टरका इन्चार्ज डा सिपी न्यौपानेले बताए । डाइलोसिस भवनका विभिन्न उपकरणहरू जल्दा सेवा प्रभावित हुन पुगेको अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईको भनाइ छ । अब कहिलेबाट सेवा सुचारु होला त भन्ने जिज्ञासामा डा भट्टराई अब यसै भन्न सकिने अवस्था नरहेको बताउछन् । प्राबिधिक टोलीले उपकरणहरूको चेकजाँच गरिरहेको र कति काम लाग्ने र कति नलाग्ने अवस्थामा छन्, त्यो हेरेर मात्रै थाहा हुने उनले सुनाए । आगलागीका कारण सेवा प्रभावित हुने भएपछि नियमित डायलिसिस गराइरहेका बिरामी मर्कामा परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार