इलाम/ आगामी वैशाख १५ गते इलाम दुईमा उप निर्वाचन हुँदै छ । तर निर्वाचनको अघिल्लो दिन अर्थात् १४ वैशाख देखी नै कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । त्यस्तै स्नातक तह दोस्रो वर्षको परीक्षा वैशाख १६ देखि हुने हुने भएको छ ।
परीक्षा लेख्ने मतदाता नामावलीमा नाम भएका विद्यार्थी मतदानबाट छुट्ने भएका छन् । केही विद्यालयमा मतदान स्थल र परीक्षा केन्द्र समेत रहेको छ । मतदान स्थल रहेका विद्यालयमा परीक्षा सञ्चालनका लागि समेत समस्या आउने देखिएको छ । निर्वाचन क्षेत्र दुईका छ वटा विद्यालयमा मतदान स्थल रहेको बताइएको छ ।
परीक्षा सञ्चालन हुने विद्यालय र मतदान स्थल रहेको विद्यालय फरक फरक हुनाले विद्यार्थीहरू मतदानबाट वञ्चित भएका हुन् ।गाउँबाट परीक्षा लेख्न बजार आएका परीक्षार्थीहरू मतदान स्थलसम्म जान कतिपय स्थानमा जान दुरी लामो भएका कारण पनि मतदानबाट वञ्चित हुनु पर्ने अवस्था आएको छ ।
स्नातक दोस्रो वर्षको परीक्षा वैशाख १६ गते बिहानदेखि नै हुने भएको छ । सदरमुकाममा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थी मतदानको दिन मत लगाएर भोलीपल्ट बिहान क्याम्पससम्म आउन सक्ने अवस्था नभएको बताइएको छ ।
वैशाख १४ गते बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार सम्पन्न भएपछि मात्र मतदान केन्द्रको तयारी गर्न ती विद्यालयलाई आग्रह गरिएको छ । यस अघिका निर्वाचनमा समेत कम मतदान भइरहेको भन्दै सरोकारवालाले यसमा चिन्ता व्यक्त गरेका छन् । परीक्षा र मतदानको समय एउटै हुँदा समस्या भएको नेकपा एमालेका उपाध्यक्ष उदय राईले बताए ।
उनले समन्वय नभएका कारण यस्तो भएको हुन सक्ने बताए । उनले माथिल्लो निकायमा समेत समन्वय भइरहेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका सचिव निरोज खड्गीले परीक्षा र मतदान दुवै महत्त्वपूर्ण भएको बताए । यस विषयमा के गर्न सकिन्छ सरोकारवाला निकायले चासो देखाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया