बैंकहरूले घटाए निक्षेपको ब्याजदर

आइतबार, ०२ बैशाख २०८१
विराटनगर /  चैतको तुलनामा बैङ्कहरूको औसत ब्याजदर सामान्य घटेको छ । वाणिज्य बैङ्कहरूले वैशाखका लागि नयाँ ब्याजदर सामान्य घटाएका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको हो । चैतका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैङ्कको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा वैशाखका लागि ७.०६ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसत अधिकतम ७।२५ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कहरूले वैशाखमा औसत अधिकतम ७.०७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये १३ वटाले यस्तो निक्षेपमा अधिकतम ब्याजदर घटाएका कारण औसत ब्याजदर सामान्य घट्न पुगेको हो । ५ बैङ्कले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैङ्कले ब्याजदर बढाएका छन् । कृषि विकास, स्टाण्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर वैशाखका लागि स्थिर राखेका छन् । एभरेस्ट र एनएमबिले चैतको तुलनामा वैशाखमा ब्याजदर बढाएका छन् । बाँकी १३ नेपाल बैङ्क, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसिया बैङ्कले ब्याजदर घटाएका छन् । चैतमा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो भने वैशाखमा सबैभन्दा धेरै एनएमबिले ७.९७ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैङ्कको ब्याजदर ८ प्रतिशत नपुग्ने भएको छ । त्यसै गरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशत विन्दु घटेको छ । चैतमा ६.०० प्रतिशत विन्दु रहेको यस्तो निक्षेपमा बैङ्कहरूको औसत ब्याजदर वैशाखका लागि घटेर ५.८१ प्रतिशत विन्दुमा झरेको छ । बैङ्किङ प्रणालीमा अधिक तरलताका बाबजुद कर्जा प्रवाह न्यून भएसँगै बैङ्कहरूले ब्याजदर घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरूप अब संस्थाहरूलाई बैङ्कले ६.९७ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार