पूर्वी नेपालमा रातभरि पड्किन्छ पटका, जेनजी आन्दोलनपछि तस्कर सक्रिय

मंगलबार, ०४ कार्तिक २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वी नेपालका अधिकांश सहर सोमबार राति पटकाको ठूलो आवाजले कोलाहलपूर्ण बने । तिहारको उत्सव चलिरहेका बेला जताततै पड्किएका पटाकाले वातावरण प्रदूषित बनाउँदा बालबालिकादेखि वृद्धासम्मका सर्वसाधारण असहज बनेका छन् । विशेषगरी खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा भित्र्याइएका पटका तिहार र छठका अवसरमा ठूला आवाजका साथ पड्काइँदै आएका छन्, जसले रातभर पूर्वका सहरहरूलाई अतीसबाजी र धुवाँले ढाकेको थियो ।

विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, भद्रपुरलगायतका स्थानमा बारम्बार ठूला आवाजमा पटका पड्किँदा सर्वसाधारणले निद्रासम्म हराएको अनुभव गरेका छन् । विराटनगरका बालकृष्ण दाहालका अनुसार विगतका वर्ष भन्दा यसपटक पटका पड्काउने क्रम केही घटे पनि यसले निरन्तरता भने पाएको छ । “दसैं सकिएलगत्तै विगतमा पटका पड्काउने गरिन्थ्यो, यस वर्ष त्यस्तो भयो । तर लक्ष्मी पूजाको रात भने रातभरजसो पटका पड्किरह्यो,” उनले बताए ।

दसैंपछि नै केही परिमाणमा भित्र्याइएका पटका लक्ष्मी पूजाको राति ठूलो मात्रामा पड्काइएको देखिन्छ । सुरक्षा निकायले यसवर्ष सीमाक्षेत्रमा कडाइ गर्दै चेकजाँच बढाए पनि जेनजी आन्दोलनका कारण केही समय सुरक्षात्मक सक्रियता कमजोर बनेको अवसरमा पटका व्यापक मात्रामा भित्र्याइएका हुन् भन्ने सुरक्षा स्रोतको दाबी छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार दिउँसोसम्ममा कोशी प्रदेशका विभिन्न स्थानबाट १८ लाख ३५ हजार रुपैयाँ बराबरका पटका बरामद भएका छन् । विगतका वर्षहरूमा भने करोडौंका पटका बरामद हुने गर्थे । यसपटक बरामदको परिमाण घट्नुको कारण आन्दोलनका क्रममा सीमाक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति कमजोर भएको बताइन्छ ।

एक सुरक्षाअधिकारीका अनुसार, “जेनजी आन्दोलनपछि केही समय सुरक्षा संयन्त्र निष्क्रियजस्तै भयो । त्यसकै फाइदा उठाउँदै भारतबाट सीमामार्ग हुँदै पटकाको तस्करी भयो । अहिले जताततै पड्किँदै गरेको पटका त्यही समय भित्रिएको हो ।”

सुरक्षा स्रोतका अनुसार आन्दोलनको रापले सुरक्षाकर्मीको ध्यान अन्यत्र मोडिँदा तस्करीका मार्ग खुलेका थिए । त्यसकै मौका छोपेर पटका र अन्य सामान ओसारपसार गर्ने गिरोह सक्रिय भएको थियो । विराटनगरका एक व्यापारीले पनि दसैंअघि नै पटका भित्र्याइएको पुष्टि गरे । “जेनजी आन्दोलनका बेला सीमा सुनसान थियो, सुरक्षाकर्मी थिएनन् । त्यसबेला पटका सजिलै भित्रिए, अहिले बजारमा त्यही पड्किँदैछ,” उनले भने ।

पटका पड्काउँदा सिर्जना भएको ध्वनि र वायुप्रदूषणले वातावरण र स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको विज्ञहरूको भनाइ छ । वातावरणविद् रामचन्द्र अधिकारीका अनुसार पटकाको धुवाँले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्छ र दीर्घकालीन रूपमा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ । “एलुमिनियम नाइट्रेट, सुल्फर डाइअक्साइड, लिडजस्ता धातु मिसिएको धुवाँ औद्योगिक प्रदूषणभन्दा पनि हानिकारक हुन्छ,” अधिकारी भन्छन् ।

कोशी अस्पतालका चिकित्सक डा. रोशन खड्काका अनुसार पटकामा रहेका भारी धातु र रसायन सासमार्फत शरीरमा प्रवेश गरी दम, एलर्जी, हृदयरोग र क्यान्सरको जोखिम बढाउँछन् । “बालबालिका पटका पड्काउँदा सरसफाइमा ध्यान नदिँदा रसायन सजिलै शरीरमा प्रवेश गर्छ । सिसाजस्ता धातुले स्नायु प्रणालीमा असर पुर्‍याउँछ र गर्भवती महिलामा गर्भपतनको जोखिम पनि बढाउँछ,” डा. खड्का बताउँछन् ।

पटकाका अवशेष पानीमा मिसिँदा त्यसले खानेपानी प्रदूषित बनाउने खतरा पनि बढेको चिकित्सकहरूको चेतावनी छ । विस्फोटको बेला नजिक रहेका व्यक्तिहरू प्रत्यक्ष घाइते हुने र रासायनिक असरले दीर्घकालीन रोग निम्त्याउने सम्भावना रहेको उनीहरू बताउँछन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार पटका पड्काउँदा वातावरण र स्वास्थ्यमा क्षति त पक्कै हुन्छ, तर अर्को ठूलो समस्या नेपाली मुद्रा भारततिर पलायन हुनु हो । “पटका पड्काउँदा प्रतिफल केही छैन, पैसा भारत जान्छ, हाम्रै स्वास्थ्य बिग्रन्छ,” उनले भने ।

कार्कीका अनुसार सुरक्षाकर्मीले सीमा क्षेत्रमा कडाइ गरेर केही परिमाणमा बरामद गरे पनि यसका लागि छुट्टै ‘स्पेशल’ टोली खटाइएको छैन । “तस्करी नियन्त्रणकै क्रममा पटका नियन्त्रणमा पनि प्रहरी सक्रिय हुन्छ । यसपटक तुलनात्मक रूपमा कम पड्किएको देखिन्छ, तर यो पूर्ण रूपमा रोकिएको छैन,” उनले बताए ।

डीआईजी कार्कीले पटकाको प्रयोग नियन्त्रण गर्न नागरिक तहबाटै सचेतना बढाउनुपर्ने बताए । “पटकाले वातावरण, स्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा नोक्सानी गर्छ । त्यसैले समुदायले पनि सचेत हुनुपर्छ,” उनले जोड दिए ।

यसरी तिहारको रंगीन उत्सवबीच पूर्वी नेपालमा पड्किँदै गरेका अवैध पटाकाले सुरक्षा संयन्त्र, वातावरण र जनस्वास्थ्यलाई समान रूपमा चुनौती दिइरहेको स्पष्ट भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार