सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

आइतबार, ०६ पुस २०८२

सुर्खेत :  सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि नगरक्षेत्रका  १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।


नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ४१ जना स्वास्थ्यतर्फका कर्मचारी हटाएको जानकारी दिएको छ । 

आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिएका छन् । नगरपालिकाको वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नम्बर ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नम्बर ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नम्बर ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् ।


यस्तै वडा नम्बर १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नम्बर ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नम्बर ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नम्बर ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नम्बर ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नम्बर १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

नजिकमा रहेका स्वास्थ्य संस्थाहरु बन्द हुँदा सेवा लिन तीन घण्टाको दुरीमा रहेको साल्कोट अस्पतालमा जानु पर्ने वाध्यता रहेको वडा नम्बर १का धर्मजीत थापा गुनासो गर्दछन । गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि वडा नम्बर  १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नम्बर ं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा रहेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार