गगन थापा भन्छन्– मेरो घर जलाउन एमालेकै नेता संलग्न थिए (भिडियोसहित)

मंगलबार, ०४ कार्तिक २०८२
तस्बिर : फाइल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गते आफ्नै घरमा भएको आगजनीमा नेकपा (एमाले) का स्थानीय नेतासमेत संलग्न रहेको दाबी गरेका छन्। कान्तिपुर टेलिभिजनमा सोमबार प्रसारित ‘फायरसाइड’ कार्यक्रममा रुपेश श्रेष्ठसँग कुरा गर्दै थापाले आन्दोलनको आवरणमा केही राजनीतिक व्यक्तिहरूले व्यक्तिगत स्वार्थ र आक्रोशको फाइदा उठाएको खुलासा गरेका हुन्।

उनले भने, “म सभापतिजीसँग कुरा गर्दै थिएँ, सरकार छोड्नुपर्छ भन्दै थिएँ। त्यतिखेर नै मेरो टोलकै एमाले नेता, जो प्रधानमन्त्रीसँग विशेष पहुँचमा छन्, उनी नै आएका रहेछन् मेरो घर जलाउन।” थापाले उक्त नेता स्थानीय तहको चुनावमा उम्मेदवारसमेत रहेकाले घटनाले आफूलाई गम्भीर रूपमा हल्लाएको बताए।

महामन्त्री थापाले सीसी टिभी फुटेजमा आफ्नै टोलका केही चिनिएका अनुहारहरू देखिएको उल्लेख गर्दै थपे, “ऊ त आफैं सरकारमा छ। सरकारसँग रिसाएको हो भने ऊ पनि त सरकारकै भाग हो। तर आन्दोलनको नाममा आफ्नै घर जलाउने सम्मको काम गर्‍यो।”

थापाले भदौ २३ र २४ गतेका आन्दोलनहरूलाई फरक दृष्टिले हेर्नुपर्ने बताएका छन्। उनका अनुसार पहिलो दिन नागरिक असन्तुष्टिले सडक तताएको थियो भने दोस्रो दिन त्यही आन्दोलनको आडमा केही तत्त्वहरूले अराजक गतिविधि मच्चाए। उनले नयाँ दलका जिम्मेवार नेतासमेत तोडफोडमा सहभागी रहेको दाबी गर्दै भने, “नयाँ दलका जिम्मेवार साथीहरू पनि आएका थिए। मैले पछि उनलाई टेक्स्ट गरेँ– कस्तो लाग्यो मेरो घर?”

आफू र परिवारले कसरी आगो लाग्दा ज्यान जोगाएका थिए भन्ने अनुभव सुनाउँदै थापाले भने, “म अझै पनि डराइरहेको छु, तर अझै पनि सम्हाल्न सकिन्छ भन्ने विश्वास छ।” उनले पार्टीको मंसिरमा महाधिवेशन गरेर नयाँ नेतृत्वसहित फागुन २१ को निर्वाचनमा जाने तयारी भएको पनि बताए।    पूरा भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार