लक्ष्मीपूजाको राती भैलोमा रमायो विराटनगर

मंगलबार, ०४ कार्तिक २०८२

विराटनगर । लक्ष्मीपूजाको रात परेको सोमबार कोशी प्रदेशको राजधानी विराटनगर भैलोमय बन्यो । तिहारको मुख्य दिन लक्ष्मीपूजाको अवसरमा महिलाहरू र बालिकाहरूको उत्साहले सहरका गल्ली, टोल र घरआँगन झन् झलमल बने । दीप, फूल र गीत–संगीतको संगममा विराटनगर उज्यालो र उल्लासको केन्द्र बनेको थियो ।

साँझ पर्नासाथ ‘भैलो ओ भैलो’को सुमधुर आवाज सहरभर गुञ्जियो । परम्परागत पोसाकमा सजिएका महिलाहरू र बालिकाहरूले दीप र फूलको माला बोकेर घरघर पुग्दै भैलो खेलेका थिए । कतै मादलको तालमा गीत गुञ्जिँदै थियो भने कतै बालिकाहरू मिठाई र दक्षिणा संकलन गर्दै हाँस्दै दौडिरहेका थिए । भैलोको लय, दीपको उज्यालो र फूलको सुवासले विराटनगरलाई साँच्चिकै रङ्गिन बनायो ।

विराटनगर–५ की मधु कोइरालाले भनिन्, “भैलो खेल्न जान पाइयो भने तिहारको रमाइलो त्यतिबेलै सुरु हुन्छ । साथीहरूसँग गीत गाएर नाच्दा मन हलुका हुन्छ । यो हाम्रो संस्कृतिलाई जोगाउने सुन्दर बाटो हो ।” उनका अनुसार भैलोले नारीलाई केवल मनोरञ्जन होइन, समाजसँग पुनः जोडिने अवसर पनि दिन्छ ।

यसवर्ष मोरङ प्रशासनले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको भए पनि निर्धारित समयभित्र महिलाहरूले उल्लासपूर्वक भैलो खेलेका थिए । विराटनगर जामुनगाछीकी टीका खरेलका अनुसार प्रशासनको निर्देशनअनुसार नै भैलो सम्पन्न गरिएको हो । उनले भनिन्, “भैलो महिलाले जीवित राखेको मौलिक परम्परा हो । यसले धर्म, संगीत र सामाजिक एकताको सुन्दर संयोजन गर्छ ।”

लक्ष्मीपूजाको रात खेलिने भैलो धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको छ । जनविश्वासअनुसार देवी लक्ष्मी घर–घरमा आइरहेकी हुन्छिन् र दीप प्रज्वलनबाट उनको स्वागत गरिन्छ । महिलाहरूले भैलो खेल्दा देवी प्रसन्न हुने र घरमा धन, सौख्य र सौभाग्यको आशीर्वाद रहन्छ भन्ने विश्वास रहिआएको छ ।

त्यसैगरी तिहारको रौनकले बजार पनि उज्यालो बनेको थियो । महिलाहरू भैलोका लागि दीप, फूल, गहना र श्रृङ्गार सामग्री किन्न बजारमा गएका थिए । जसले व्यापारिक चलहल र चमक पनि बढाएको थियो ।

भैलोका गीत र नाचसँगै विराटनगरका गल्लीहरूमा देखिएको दृश्य साँच्चिकै मोहक थियो । कतै बालिकाहरूको हाँसोले गल्ली गुञ्जिएको थियो, कतै दीपको उज्यालोले घर–घर चम्किएको थियो । यसरी लक्ष्मीपूजाको रात विराटनगरमा केवल दीपको उज्यालोले होइन, भैलोको गीत, संगीत र सहकार्यको भावनाले पनि उज्यालो बनेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार