धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीकै तर्फबाट पुनस् मुख्यमन्त्रीमा दाबी पेस भएको छ। पार्टीका सांसद कैलाश चौधरीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । यसअघि आजै नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरिसकेका छन् ।
चौधरीले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्शमा लागेका छन् । कानुनी परामर्शपछि मात्र उनले निर्णय लिने बताइएको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छन्।
सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आज साँझसम्मको समयसीमा तोकेका छन्।
प्रतिक्रिया