मोरङबाट गोली हानेर ब्राउन सुगरका कारोबारी पक्राउ

मंगलबार, ०१ जेठ २०८१
विराटनगर । मोरङको रतुवामाईबाट गोली हानेर प्रहरीले लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले ब्राउन सुगरका कारोबारीलाई नियन्त्रणमा लिन रतुवामाई नगरपालिका–६ मा कादुपाडामा मंगलबार दिउँसो ३ बजेतिर गोली चलाएको हो । गोली हानेर ब्राउन सुगरका कारोबारी भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ । भारतको किसनगञ्ज–८ घर बताउने ३४ वर्षीय भगीरथ हरिजनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि पेस्तोलबाट २ राउण्ड गोली फायर गरिएको प्रहरीले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ । शंकास्पद अवस्थामा भेटिएका उनलाई प्रहरीले पिछा गरेको थियो । हरिजनलाई बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको बताइएको छ । घाइते अवस्थाका हरिजनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको छ । उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक नवीन साही सामान्य घाइते भएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार