आइसिसी टी–२० विश्वकप २०२४ : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

बुधबार, २३ जेठ २०८१
अमेरिका: आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार राति समूह ‘डी’को नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको डालासमा भएको खेलमा टस हारी पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेटको क्षतिमा एक सय नौ रन जोड्दै जित निकालेको हो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५४ रनको योगदान दिए । उनले बास डी लिडेसँग पाँचौँ विकेटका लागि २० बलमा २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन् । नेदरल्यान्ड्सलाई अन्तिम ३ ओभरमा १९ रनको आवश्यक थियो । मध्यम योगफल रक्षा गर्न क्रिजमा ओर्लेको नेपालले इनिङ्सको १८औँ ओभरसम्म नेदरल्यान्ड्सलाई चुनौती दिएको थियो । १८औँ ओभरमा कप्तान रोहितकुमार पौडेलले अविनाश बोहोरालाई बलिङ दिए । यसै ओभरमा नेदरल्यान्ड्सले १५ रन जोड्दा नेपालले खेल गुमायो । नेदरल्यान्ड्सविरुद्ध नेपाली फिल्डरले मिस फिल्ड गरेका थिए । उनीहरूले सहज क्याच मिस गरेका थिए । सोमपालको ओभरमा म्याक्स ओ’डाउडको क्याच रोहितले छाडेका थिए । इनिङ्सको १.२ ओभरमा नेपाललाई पहिलो सफलता सोमपालले दिलाए । उनले ओपनर माइकल लेभिटलाई एक रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए । म्याक्स ओ र विक्रमजित सिंहले दोस्रो विकेटका लागि ४० रन जोडे । विक्रमजितले २८ बलमा २२ रन बनाए । बलिङ गर्ने क्रममा नेपालका लागि सोमपालले चार ओभरमा १८ रन खर्चेर एक विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ ओभरमा ६ रन खर्चिँदै एक विकेट हात पारे । अविनाशले ३.४ ओभरमा २९ रन दिँदै एक विकेट लिए । नेपालको कमजोर ब्याटिङ नेदरल्यान्ड्सका सिमर बलरले कसिलो बलिङ गर्दा पहिलो ब्याटिङ गरेको नेपालको प्रदर्शन कमजोर रह्यो । नेपालको ब्याटिङमा तीन छक्का र १० चौका प्रहार भएको थियो । नेदरल्यान्ड्सका टिम प्रिन्गल तथा लोगान भान विकले घातक बलिङ गर्दै समान तीन विकेट लिए । यसैगरी, पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिँदा नेपालका खेलाडीले खुलेर स्ट्रोक लगाउन सकेनन् । दोस्रोपटक विश्वकप खेलिरहेको नेपालले आफ्ना दुवै ओपनर ३.१ ओभरमा १५ रन बनाउँदा गुमाएको थियो । कुशल भुर्तेल र आसिफ सेखबीच पहिलो विकेटका लागि १० रनको साझेदारी भएको थियो । इनिङ्सको १.६ ओभरमा भुर्तेल क्याचआउट भए । आसिफले चार रन जोडे । अनिल शाह र रोहित पौडेलले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गर्दै नेपाललाई ७.४ ओभरमा ४०–३ को स्थितिमा राखे । अनिलले १२ बलमा दुई चौका प्रहार गरी ११ रन जोडे । उनी प्रिन्गलको ओभरमा भान विकबाट क्याच आउट भए । कुशल मल्लले नौ रन, दीपेन्द्रसिंह ऐरीले एक रन तथा सोमपाल कामी शून्य रनमा आउट भए । सोमपाल क्रिजबाट हट्दा नेपाल ६६–६ को कमजोर स्थितिमा थियो । फितलो ब्याटिङ इनिङ्समा रोहितले नेदरल्यान्ड्सका बलरविरुद्ध डटेर सामना गरेका थिए । उनले ब्याटिङमा सर्वाधिक ३५ रनको योगदान दिन ३७ बलमा पाँच चौका प्रहार गरे । उनी इनिङ्सको १५.६ ओभरमा प्रिन्गलबाट क्याच आउट भए । त्यसपछि करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ रन बनाए । गुल्सन झाले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे । ब्याटिङ राम्रो गर्न सकेनौँ रोहितकुमार पौडेल, कप्तान, नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ राम्रो गर्न सकेनौँ । नेदरल्यान्ड्सका बलरले उत्कृष्ट बलिङ गरे । हामीहरूको सुरुवात राम्रो भएन । नेपालको ब्याटिङ कमजोरी भनेको साझेदारी हुन नसक्नु हो । मैले क्रिजमा साझेदारी बनाउने कोसिस गरेको थिएँ । हामीले लक्ष्य रक्षा गर्न कोसिस ग¥यौँ । बलिङ सोचेजस्तै भयो । तर, अन्तिमतिर खेल बिग्रियो । फिल्डिङ क्रममा केही सहज क्याच मिस भयो । ती क्याच लिँदा खेलको नतिजा फरक हुन सक्थ्यो । रोहित विश्वकपकै कान्छा कप्तान नेपालका कप्तान रोहितले चालू विश्वकपमा कीर्तिमान बनाएका छन् । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सहहभागी १० टोलीमा उनी सबैभन्दा कान्छा कप्तान बनेका छन् । उनले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै यो कीर्तिमान राखेका हुन् । सन् २००२ मा नवलपरासीमा जन्मिएका रोहितले सन् २०१८ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी नेपाली टोलीको टी–२० र एकदिवसीयका कप्तान हुन् । एकदिवसीय क्रिकेटमा नेपालका लागि रोहित सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन् । खेल जित्न गाह्रो भयो स्कट एडवार्डस् कप्तान, नेदरल्यान्ड्स नेपालविरुद्धको खेल रोमाञ्चक भयो । विशेषगरी, मैदानमा हजारौँ नेपाली समर्थकबीच खेल्न हामीलाई केही कठिन भएको थियो । नेपाली बलरले पनि अन्तिमसम्म हामीलाई चुनौती दिइरहेका थिए । उनीहरूको बलिङ युनिट राम्रो रह्यो । हाम्रा सिमर बलरले धेरै राम्रो गरे । अगाडि खेलमा अझ योभन्दा राम्रो गर्नुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार