चट्याङले मोरङका विभिन्न स्थानमा क्षति, बिजुली चम्किदा अचेत भएका वृद्धको मृत्यु

शुक्रबार, ३२ जेठ २०८१
विराटनगर । वर्षासँगै परेको चट्याङले शुक्रबार बिहान मोरङका विभिन्न स्थानमा क्षति पुर्याएको छ । चट्याङ पर्ने क्रममा बिजुली चम्किदा अचेत भएर ढलेका एक जना वृद्धा पुरुषको मृत्यु भएको छ । अविरल वर्षासँगै बिजुली चम्किदा विराटनगर महानगरपालिका–१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको मृत्यु भएको हो । प्रहरीका अनुसार मस्जिदबाट नमाज पढेर फर्कदै गरेका मियाँ बिजुली चम्किदा बेहोस भएर बिहान ६ बजेतिर ढलेका थिए । आफन्तले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्यानसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान थालिएको जानकारी बस्नेतले दिए । त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१० सयपत्री टोलमा चट्याङ परेर आगलागी हुँदा स्थानीय यमनाथ बरालको परालको कुन्यू जलेर ध्वस्त भएको छ । बिहान ४ः३० बजेतिर परेको चट्याङले १ बिघा जमिनको परालको कुन्यू जल्दा २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, स्थानीय र दमकलको सहयोगमा ५ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । चट्याङले सुन्दरहरैँचा–१० कै हिक्मत राउतको घरमा रहेको एउटा टिभी र वाइरिङ गरेको तारको बोर्डमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । घटनामा २० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । यसैबीच, धनपालथान गाउँपालिका–३ बेतौनाका मानबहादुर राजवंशीको गाई र बाच्छीलाई चट्याङले मारेको छ । मसलाको रुखमा बाँधिएका गाई र बाच्छीलाई बिहान ७ बजेतिर परेको चट्याङले मारेको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार