विराटनगर । निरन्तरको वर्षासँगै कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । मङ्गलवार रातीदेखिको अविरल वर्षासँगै विराटनगरमा डुबान सुरु भएको हो । सर्वसाधारणका घरघरमा पानी पसेको छ । लगातार वर्षा भइरहेसँगै विराटनगरको पूर्वतर्फको सिंघिया र पश्चिमतर्फको केसलिया खोलामा पानीको बहाव उच्च भएको छ । दुवै खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्न थालेको प्रहरीले जनाएको छ ।
विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन । जसका कारण सामान्य वर्षामै विराटनगर डुबानमा पर्ने गरेको छ । झन् निरन्तर वर्षा भएपछि जलमग्न भएको विराटनगरका अधिकांश स्थान डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाले विराटनगर बजारलाई डुबानमुक्त गर्ने योजना अनुरूप काम भइरहेको दाबी गरे पनि पानीको निकासलाई व्यवस्थित गर्न सकिरहेको छैन ।
महानगरपालिकाकै लापरबाहीका कारण बर्सेनि सयौँ सर्वसाधारण बाढी र डुबानको चपेटामा पर्ने गरेका छन् । महानगरपालिकाको बेवास्ता र लापरबाहीको सिकार सर्वसाधारण भइरहेको विराटनगर–५ का सनोज मण्डलले बताए ।
‘वर्षा भएर डुबान सुरु भएपछि जनप्रतिनिधिहरू डुबान प्रभावित क्षेत्रमा पुग्छन् । तर, बेलैमा निकासको उचित प्रबन्ध गर्नतर्फ ध्यान दिँदैनन्,’ मण्डलले भने, ‘डुबान हुन थालेपछि अनुगमन गर्ने र काम देखाउन खोज्ने प्रवृत्ति हाबी भयो । सर्वसाधारण भने ठुलो समस्यामा परिरहेका छन् ।’
बाढी र डुबानका कारण सर्वसाधारणले घर छाड्नुपर्ने अवस्था आइरहेको गुनासो उनले गरे । उनका अनुसार धेरै घरमा पानी पसिसकेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंघिया खोलाको बाढी हाट खोला आसपासका बस्तीतिर पस्न थालेको छ । ‘हाट खोला क्षेत्रका ५÷७ वटा घर डुबानमा परेको जानकारी आएको छ ।
पूर्ण विवरण प्राप्त हुन बाँकी छ,’ उनले भने, ‘केसलिया खोलाको बाढी पनि ‘ओभरफ्लो’ भएर बस्तीमा छिरेको जानकारी आएको छ । वर्षा रोकिएन भने बाढी र डुबानले राम्रैसँग जनजीवन प्रभावित बनाउने देखिन्छ ।’
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ । जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान पहल भइरहेको उनले बताए । ‘सम्भावित जोखिमलाई ध्यानमा राखेर ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ एसपी कार्कीले भने, ‘जोखिमयुक्त ठाउँहरूको निरीक्षण गर्ने र सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको छ ।’
उनका अनुसार निरन्तरको वर्षासँगै खोलानजिक रहेका बस्ती बढी जोखिममा परेका छन् । विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन एसपी कार्कीले सबैलाई अनुरोध गरेका छन् । विराटनगर महानगरका प्रवक्ता एवं विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले वर्षासँगै विराटनगर जलमग्न भएको बताए । विराटनगरका अधिकांश स्थान डुबानमा परेको उनको भनाइ छ ।
उनका अनुसार सर्वसाधारणका घरघरमा पानी पस्न थालेको छ । पानीको निकास भए पनि धेरै स्थानमा बनाइएका ठुला पर्खालले अवरोध पुर्याएको न्यौपाने बताउँछन् ।उनका अनुसार विराटनगरका करिब ५ सय घरमा पानी पसेको आकलन छ ।
पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको जानकारी न्यौपानेले दिए । विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए । उनका अनुसार विराटनगर– १९ का ८ परिवारलाई उद्धार गरेर शिव शक्ति विद्यालयमा राखिएको छ ।
महानगरले डुबान क्षेत्रमा उद्धार र नाला निकासका लागि ३ वटा जेसीबी, २ वटा टिपर र महानगरप्रहरीसहित करिब १ सय ५० बढी जनशक्ति उद्धारमा खटाएको न्यौपानेले बताए ।
त्यस्तै, अविरल वर्षाले जनजीवन प्रभावित भएसँगै विराटनगर महानगर क्षेत्रका विद्यालयमा बुधवार बिदा दिइएको छ । सरकारी तथा निजी विद्यालयमा एक दिन पठनपाठन बन्द हुने भएको हो ।प्याबसन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले अधिकांश स्थान जलमग्न भएपछि विद्यार्थी आउन सक्ने सम्भावना नरहेकाले बिदा दिइएको बताए ।
वर्षासँगै केही विद्यालयसमेत डुबानमा परेकाले पठनपाठन गराउन सक्ने अवस्था नभएको उनको भनाइ छ । विद्यार्थी विद्यालयसम्म आइपुग्नसक्ने अवस्था नभएको र वर्षाकै कारण पठनपाठन प्रभावित भएको बुढाथोकी बताउँछन् । उनका अनुसार वर्षा रोकिएर अवस्था सामान्य बनेपछि पठनपाठन नियमित हुने छ ।
प्रतिक्रिया