विराटनगर । विराटनगरमा केटीको विषयमा विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भएको खुलेको छ ।
केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार घटनामा गम्भीर घाइते भएका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट थियो । घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।
नोबेल अस्पतालमा उपचाररतमध्ये रायको अवस्था गम्भीर र मण्डलको मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनालाई नै घाइते अवस्थामा फेला पारेर बाटोमा हिँड्दै गरेकाहरुले उपचारका लागि कोशी अस्पताल लगेका थिए ।
घटनामा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि सोधपुछ भइरहेको र थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार घटनाको अनुसन्धानकै क्रममा युवकको हत्या हुनुको कारण ‘ग्याङ फाइट’ भएको खुलेको हो ।
बस्नेतले घटनामा संलग्न विराटनगर–११ घर भइ विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालकलाई पक्राउ गरिएको बताए । ‘ग्याङ फाइट’का क्रममा घटनामा संलग्नमध्ये शेर्पाले मृतक र घाइतेलाई कैंचीले जथाभावी प्रहार गरेको थाहा भएको उनको भनाइ छ ।
उनका अनुसार घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको छ । शेर्पा र पुरी नर्सिङ होमअगाडिको फार्मेसी (औषधि पसल)मा काम गर्थे । घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाट मंगलबार बिहान पक्राउ गरिएको बस्नेतले बताए ।
प्रहरीका अनुसार केटीको विषयलाई लिएर दुई पक्षबीच गत आइतबार साँझ घटनास्थलनजिक विवाद भएको पाइएको छ । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा भएको विवादले भोलिपल्ट ‘ग्याङ फाइट’ र हत्याको रूप लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार विवादपछि रिसईबी साँधेर बसेको मृतक र घाइते पक्षका १२÷१३ जनाको समूहले भोलिपल्ट बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइयो । पीडक पक्षका युवाहरुले पनि काम सकेर घुम्न निस्किएका बेला आफूहरुमाथि बाटो ढुकेर बसेको समूहले सुरुमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।
‘आक्रमण हुन थालेपछि प्रतिकार गर्दा ज्यानै जानेसम्मको दुःखद् घटना भएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘केटीको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति भयो पाइयो ।’ ‘ग्याङ फाइट’का क्रममा दोहोरो हानाहान हुँदा पक्राउ पर्नेमध्ये शेर्पाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको डीएसपी बस्नेतले बताए । घटनामा अरु पनि संलग्न छन् कि भनेर विस्तृतमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । त्यही मोबाइलका आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको बस्नेतले बताए । उनका अनुसार उक्त मोबाइल घटनामा संलग्न मध्येकै हो ।
प्रतिक्रिया