रुसी सेनामा नेपालीलाई भर्ना बन्द, दलालले लगेका झन्डै डेढसय नेपाली स्वदेश फर्किए

बुधबार, २६ असार २०८१
काठमाडौं । नेपालबाट परराष्ट्र मन्त्रालयले आग्रह गरेपछि रुसी सेनामा नेपालीलाई भर्ना करिब बन्द भएको बताइएको छ । सेनामा भर्ती गर्न भन्दै दलालले लगेका केही नेपाली युवाहरू भर्ना नपाएर फर्किएका छन् । कतिपय भर्ती भएर काम गरिरहेका युवाहरू समेत फर्किएका छन् । जेठ दोस्रो हप्तायता झन्डै डेढ सय नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भएको सरकारी अधिकारीहरूले बताएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरूको सङ्ख्या १ सय ३८ पुगेको छ । दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरू पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन् । मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरू दूतावासको सम्पर्कमा छन् । लमजुङ दुधपोखरीका नवराज गुरुङलगायत राजदूतावासले आश्रयमा छन् । स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि उनी दूतावासको सम्पर्कमा पुगेका हुन् । यसअघि सम्बन्धित परिवार र विभिन्न माध्यबाट नेपालले रुस सरकारलाई ३२१ जना नागरिकलाई रुसी सेनाबाट फिर्ता गरिदिन आग्रहसहितको सूची बुझाएको थियो । १० फागुन २०७८ मा युक्रेनमाथि आक्रमण गरेको थियो । रुसले २०२२ सेप्टेम्बरदेखि विदेशी नागरिकहरूलाई सेनामा भर्ती लिन थालेको थियो । युद्धको समयमा भर्ती हुँदा आकर्षक तलब–भत्ता दिइन थाल्यो । रुसमा पढ्न गएका कतिपय नेपाली विद्यार्थीहरू २०७९ वैशाख महिनादेखि भर्ती हुन थालेका थिए । आकर्षक तलबका कारण पछि कतिपय नेपालीहरू स्वेच्छाले भर्ती हुन रुस पुगेका थिए । धेरैलाई मानव तस्करहरूले रुस पुर्‍याएका थिए । त्यसपछि मस्कोस्थित नेपाली राजदूतावास र काठमाडौँबाट परराष्ट्र मन्त्रालयले दुई पक्षीय सम्झौतामार्फत् नेपालीलाई सेनामा भर्ती नहुन आह्वान गरेका थिए । १५ मंसिर २०८०मा नेपालले कूटनीतिक नोटमार्फत् रुसी सेनामा नेपालीहरूको भर्ती रोक्न, युद्धमा घाइते नेपालीहरूको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको थियो । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी उपविदेशमन्त्री एन्ड्री युरीबीच तेहरानमा समेत भेट गरेका थिए । रुसबाट नेपाली फिर्ताको विषय सैन्य मामिला भएको भन्दै हल्लाखल्लाको विषय नबनाइए हुन्थ्यो भन्ने रुसी अधिकारीहरूको चाहना रहेको बुझिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार