विराटनगर । मोरङको बेलबारीमा बिहीबार बिहान छाडा एवं बेवारिसे कुकुरले आतंक मच्चाएको छ ।
कुकुरले घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई पालैपालो तथा लखेटीलखेटी टोकेको थियो । बेवारिसे कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई समेत टोकेको स्थानीयले बताएका छन् । एउटा कुकुरले जथाभावी टोक्न थालेपछि गाउँ आतंकित भएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले बताए ।
उनका अनुसार उक्त कुकुरले बिहान ९ः३० बजेतिर बेलबारी नगरपालिका–१ र ३ का ९ जनालाई टोकेको छ । कुकुरले टोकेर घाइते भएकाहरुलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको जानकारी राईले दिए । बेलबारी–१ र ३ सिमानामा पर्छ । सबै जनालाई एउटै कुकुरले टोकेको राईले बताए । कुकुरले टोकेर घाइते हुनेमा ५ जना वृद्धवृद्धा छन् । उनका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त छ ।
‘घर वरपर काम गरिरहेका र बाटोमा हिँडिरहेका बेला कुकुरले लखेटीलखेटी टोकेको पाइयो,’ राई भन्छन्, ‘त्यो बहुलाएको कुकुर हुनुपर्छ ।’ बहुलाएकै कारण मानिस र घरपालुवा कुकुरलाई जथाभावी टोकेको आशंका रहेको उनको भनाइ छ । उनले गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको बताए ।
कुकुरले टोक्दा बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राई घाइते भएका छन् । वृद्धवृद्धामध्ये पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी तथा तुलसी र दिलबहादुरको मुखमा गहिरो चोट लागेको प्रवक्ता राईले बताए । अन्य घाइतेको शरीरका विभिन्न भागमा चोट छ ।
जथाभावी टोक्दै हिँडेको कुकुरलाई भने स्थानीयले नियन्त्रणमा लिएर मारिदिएका छन् । त्यो कुकुरले गाउँका अन्य ४ वटा घरपालुवा कुकुरलाई समेत टोकेको राईको भनाइ छ । बेवारिसे कुकुरले टोकेका गाउँका अन्य कुकुरको व्यवस्थापनका लागि नगरप्रहरीसहितको टोली परिचालन गरिएको थियो ।
नगरपालिकाबाट खटिएको टोलीले बेवारिसे कुुकुरले टोकेका सबै कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएको नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए । ‘छाडा कुकुरले टोकेका अन्य कुकुरलाई २८ दिनभित्रमा ५ वटा सुई लगाइसक्नुपर्छ,’ उनले भने, ‘त्यो अवधिभर बाँधेर निगरानीमा राख्नका लागि सम्बन्धित धनीलाई आग्रह गरेका छौं ।’
उनका अनुसार छाडा एवं बेवारिसे कुकुरको आतंक एक्कासि बढेका कारण तत्काल नगरपालिकाले कुकुर व्यवस्थापनको काम सुरु गरिसकेको छ । कुकुरले कसैलाई टोकेमा नगरपालिकाले एन्टिरेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउने बस्नेत बताउँछन् । कुकुरले टोकेमा तत्काल सम्पर्कमा आउन बस्नेतले सबैमा आह्वान गरेका छन् ।
प्रतिक्रिया