यी हुन् ओली सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीहरू

सोमबार, ३१ असार २०८१
काठमाडौं : नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीको सोमबार बिहान शितल निवासमा शपथग्रहणको कार्यक्रम छ। सोही बेला सरकारमा सामेल हुने मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ। त्यसैले कां‌ग्रेस र एमालेले मन्त्री चयन गरिरहेका छन्। कांग्रेसको संस्थापन पक्षले मन्त्रीहरूको टुंगो लगाइसकेको छ भने नेता शेखर कोइराला-गगन थापा पक्ष भने अन्तिम छलफलमा छ। कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिनेमा छ। सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ। उनीहरूको मन्त्रालय टुंगो लागिसकेको छैन। सिंह सहरी विकास, देउवा परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ। सभापति देउवा पक्षले ६ जना मन्त्री टुंगो लगाएको हो। सांसद तेजुलाल चौधरी पनि मन्त्री बन्दैछन्। अब दुई जना मन्त्री चयन गर्न बाँकी छ। सभापति देउवाको सचिवालयका अनुसार सबै मन्त्रीका नाम प्राप्त भइसकेपछि कसले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लाग्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार