भावविह्वल बन्यो त्रिवि शिक्षण अस्पताल 

विहीबार, १० साउन २०८१
काठमाडाैं : जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएपछि परिवारका सदस्य र आफन्तहरू त्यहीँ भेला भए । सौर्य एयरलाइन्सका कर्मचारी ४३ वर्षीय नवराज आलेमगरकी श्रीमती महाराजगन्जस्थित शिक्षण अस्पतालपरिसरमा भावविह्वल अवस्थामा थिइन् । उनी कहिले आफन्तको काखमा घोप्टो पर्थिन्, कहिले सहयोगीको छातीमा । भेला भएर आफन्तहरू उनलाई सम्झाउने कोसिस गरिरहेका थिए ।
उनलाई सान्त्वना दिन पुगेका नयाँ बानेश्वर शान्तिनगरका रविनाथ उपाध्यायले भने, ‘नवराज चार वर्षदेखि सौर्य एयरलाइन्समा काम गर्दै आएका थिए । बुधबार बिहान जहाजको काम गर्नुछ भन्दै उनी घरबाट निस्केका थिए । पछि दुर्घटनामा परेको खबर आयो ।’ आलेका दुई छोरा छन् । बुधबार उनीहरू पनि आमासँगै शिक्षण अस्पताल पुगेका थिए । बुवाको मृत्युको खबरपछि उनीहरू पनि बोल्न सकेका छैनन् । एरोनटिकल इन्जिनियर उद्धव पुरीले पनि दुर्घटनामा ज्यान गुमाए । उनकी श्रीमती सिर्जना पनि शिक्षण अस्पतालपरिसरमा भावविह्वल अवस्थामा देखिइन् । उनी बोल्न नसक्ने अवस्थामा थिइन् । नागार्जुन नगरपालिका रामकोटका पुरी दुई वर्षदेखि सौर्य एयरलाइन्समा कार्यरत थिए । उनले चार वर्षअघि मात्रै भारत बैंग्लोरबाट एरोनटिकल इन्जिनियर पास गरेका थिए । त्यसपछि नेपाल फर्किएलगत्तै नेपाल एयरलाइन्समा ‘ट्रेनी’को रूपमा प्रवेश गरेका उनी ८ महिनापछि सौर्यमा गएका थिए । चार वर्षअघि विवाह गरेका पुरीकी डेढ वर्षकी छोरी छिन् । अन्य मृतकका परिवारको अवस्था पनि अस्पतालपरिसरमा उस्तै थियो । सबै निराश थिए । आफन्तहरू सान्त्वना दिने कोसिस गरिरहेका देखिन्थे । एकै परिवारका तीनको मृत्यु  दुर्घटनामा ज्यान गुमाएका मनुराज शर्मा सौर्य एयरमा प्राविधिकका रूपमा कार्यरत थिए । आफू पोखरा जानुपर्ने भएपछि उनले दुई–तीन दिनदेखि नै श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मालाई पनि सँगै लैजाने योजना बनाएका थिए । प्रिजाले श्रीमान्को प्रस्ताव टार्न सकिनन् । ऊर्जा मन्त्रालयमा कम्प्युटर अप्रेटर रहेकी उनले पनि बिदा मिलाएर पोखरा जाने निधो गरिन् । बुधबार जहाज पोखरा जाने टुंगो लागेपछि मनुराज श्रीमती र छोरा लिएर गोठाटारस्थित घरबाट निस्किए । तर, केही बेरमै भएको दुर्घटनामा तीनैजना अस्ताए । प्रिजा पत्रकार प्रकाश खतिवडाकी छोरी हुन् । बिहान घरबाट बिदाइ गरेर पठाएका छोरी, ज्वाइँ र नातिको मृत्युले उनीहरू अचेत छन् । दुर्घटनाका मृतकहरू - सुशान्त कटुवाल, को–पाइलट - सागर आचार्य, सेफ्टी प्रमुख - अश्विनकुमार निरौला, सिएएमओ - यज्ञप्रसाद पौडेल, मर्मत म्यानेजर - दिलीप बर्मा, क्युए प्रमुख  प्राविधिक तथा कर्मचारीहरू : - अमितमान महर्जन - सुदीपलाल जोशी - सर्वेश मरासैन - श्याम विन्दुकार - नवराज आले - राजाराम आचार्य - उद्धव पुरी - सन्तोष महतो - पुन्यरत्न शाही - अरेफ रेडा (यमनी नागरिक) - मनुराज शर्मा - प्रिजा खतिवडा (मनुराजकी पत्नी - अधिराज शर्मा (मनुराजका छोरा)  शव चिनिने अवस्थामा छैनन् : डा. गोपला चौधरी फरेन्सिक विभाग प्रमुख, शिक्षण अस्पताल  पोस्टमार्टम सुरु भइसकेको छ । एन्टिमार्टम लिने प्रक्रिया पनि सुरु भयो । अहिलेसम्म दुईवटा बडी हेरिएको छ । आज चारवटा बडी हेर्छौँ । शव चिनिने अवस्थामा छैन । बिहान ८ बजेबाटै थप शवको पोस्टमार्टम प्रक्रिया अघि बढ्छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार