झापा : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।
आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए ।
‘साउनमा रु ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन,’उनले भने ।
आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट रु आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत रु दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत रु ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत रु छ करोड ८९ लाख ३७ हजार राजस्व संकलन गरेको छ ।
गत आव २०८०/८१ को पहिलो महिनामा रु २८ करोड ९६ लाख राजश्व संकलन भएको कर अधिकृत आचार्यले बताए ।
प्रतिक्रिया