इलाम/ इलाम र सीमावर्ती भारतका विभिन्न स्थानबाट चोरी भएका १४ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको छ । पुस महिनायता त्यति संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न जिल्ला लगायत भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकहरु नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरी उपरीक्षक दिलिप घिमिरेले पुस महिनाबाट चोरीका मोटरसाइकल नियन्त्रणमा लिने अभियान सञ्चालन गरिएको बताए । भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले यहाँबाट धेरै मोटरसाइकल हराउने गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने, चेक पोइन्ट स्थापना गर्ने र शंकास्पद मोटरसाइकलहरु पाइए निगरानी साथै विशेष अनुसन्धान गर्ने क्रममा कागजपत्र नभएका १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
अभियानअन्तर्गत केही समयअघि चोरी गर्दागर्दैको अवस्थामा ७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यो ‘आकस्मिक जाँच’ गर्न चेक प्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाइकल नियन्त्रणमा लिन निर्देशन समेत दिएको बताए ।
जिल्लाका विभिन्न स्थानहरुमा समेत मोटरसाइकल चोरी भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा चोरीका उजरी समेत पर्ने गरेका छन् । चोरले बाहिर राखेकै ठाउँबाट नै मोटरसाइकल चोर्ने गरेका छन् ।
पछिल्लो समय मोटरसाइकल मात्र हैन जिल्लामा अरु साना तिना चोरीका घटना समेत बढ्न थालेका छन् । कोठामा बस्ने मानिसको कोठामै पसेर समेत चोरले वस्तु चोर्न थालेको बताइएको छ ।
प्रतिक्रिया