कोशी प्रदेशको विषयगत समितिमा भागबन्डा, कांग्रेस र एमालेलाई ३–३, माओवादीलाई १

बुधबार, २६ भदौ २०८१
विराटनगर : कोशी प्रदेशमा संसदीय समिति (विषयगत समिति)मा भागबन्डा टुंगिएको छ । कोशीमा ७ वटा विषयगत संमिति छन् । जसमा नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)ले भागबन्डा गरेका छन् । समितिको सभापति छनोटका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची छ । शुक्रबार निर्वाचन र परिणाम घोषणा हुने तयारी छ । कांग्रेस र एमालेले ३–३ वटा समितिको नेतृत्व लिने सहमति भएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एउटा नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भएको छ । कोशीमा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति एवं उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् । एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिने सहमति भएको भण्डारीले बताए । उनका अनुसार कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको नेतृत्व पाएको छ । प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समितिको नेतृत्व पाउने भएको छ । संसदीय परम्पराअनुसार लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउँछ । यससँगै राप्रपा र एकीकृत समाजवादीले समितिको नेतृत्व नपाउने पक्का भएको छ । सभामुख नै राप्रपालाई दिएका कारण समिति सभापति नदिइएको बताइन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार