आहा...बन्दैछ गुन्द्रुक

शनिबार, २० फागुन २०७९
टीका खतिवडा इलाम । ‘गुन्द्रुक’ सुन्दा हेपेर बोलिएजस्तो हुन्छ । तर त्यही गुन्द्रुकको स्वाद गजबको हुन्छ । धेरै नेपालीका लागि गुन्द्रुक लोकप्रिय खान्की हो । यो तरकारीका रुपमा र अचारका रुपमा पनि प्रयोग गरिन्छ । नेपालमा तरकारी खेती निकै हुन्छ । त्यसमा साग प्रमुख पर्छ । रायो, तोरी, फूलकोबी, बन्दाकोबी र मुलाको सागबाट गुन्द्रुक निर्माण हुन्छ । बसैभन्दा बढी त मुलाको सागबाट गुन्द्रुक निर्माण हुन्छ । साथै मुलाबाट सिन्की निर्माण हुन्छ । प्राय किसानको करेसामा साग र मुला रोप्ने गरिन्छ । सागबाट गुन्द्रुक निर्माण हुन्छ । उत्पादित बजार सम्म पुर्याउन सके उपभोक्ताहरुले खरिद गरेर तरकारी खान्छन् । इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई वस्तुलाई खुवाउने गरिन्छ । सोही सागलाई सदुपयोग गर्न सके गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । इलामको रोङ गाउँपालिकाले गुन्द्रुक ब्रान्डिङको काम थालेको छ । किसानले उत्पादन गरेर खेर गइरहेको सागबाट गुन्द्रुक निर्माण हुन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो । उत्पादन र बजारीकरण सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको छ । तर अब गुन्द्रुकले भाउ पाउने धेरै किसानहरुको अपेक्षा रहेको छ । किसानहरुले अब उत्पादित तरकारी खेर नजाने भन्दै आफुहरुमा हौसला प्राप्त भएको बताउन थालेका छन् । इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्ने गरिको काम अगाडी बढाएको छ । स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पुयाउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवर्द्धन सुरु गरेको छ । पालिकाका अगुवा किानहरूलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने तरकारी यहीँ बिक्री हुन्छ । बाँकी खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की निर्माण गरिने गाउँपालिकाको लक्ष रहेको छ । उत्पादित सिन्की गुन्द्रुकलाई प्रवर्द्धन गरेर कार्यक्रम अगाडि बढाइएको जनाइएको छ । प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोको भनाई छ । उत्पादित साग बजारमा बिक्री हुने र बाँकी रहेको पालिकाले किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले सुरुवाती तीन महिना गुन्द्रुक–सिन्की लेबलिङका लागी फुड टेक्निसियन समेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ । ६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्विस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउने छ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्ने बताइको छ । देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग एवम् मार्केटिङको सबै कार्य गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । उनका अनुसार यस वर्ष कम्तीमा तीन सयदेखि एक हजार किलोग्राम उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिने छ । पहिलो चरणमा ६० जना किसानहरूलाई सहभागी गराइएको छ भने आगामी वर्ष अझ यसलाई बढाएर कार्यक्रम सञ्चालन गरिने छ । प्रदेश नम्बर १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्विस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाई छ । अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मान सहित बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडी आदरणीय थप्ने भन्दै नेपालमा अहिले सम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुखद रहेको किसानहरुको समेत भनाई रहेको छ । यसको रिसर्च रोङ गाउँपालिकाबाटै सुरु हुने अध्यक्ष स्याङ्बोको भनाई छ । पालिकाले हरेक वर्ष एक/दुई वटा उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढवा दिइने बताइएको छ । तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम बढाइएको बताइएको छ । चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘उत्पादन पश्चात सहकारीमार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदै गरेको छ । विश्लेषणसहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको बताइएको छ । उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकार बिच साझेदारी पछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने छ । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बिमा लागू गर्ने अध्यक्ष स्याङ्बोको भनाई छ । कसरी बनाइन्छ गुन्द्रुक ? सागलाई अमिल्याएर बनाइएको वस्तुलाई नै गुन्द्रूक भनिन्छ । गुन्द्रुक राष्ट्रिय तरकारी समेत हो । राष्ट्रिय तरकारी भएर पनि सम्मान पाउन नसकेको गुन्द्रुकलाई नेपालभित्र मात्र नभएर विश्व बजारमा पुर्याउन कार्यक्रम थालिएको हो । गाउँघरमा प्राय किसानले गुन्द्रुक बनाएको भएपनि पनि सहर बजारमा गुन्द्रुक कसरी बनाइन्छ भन्ने कमैलाई मात्र जानकारी हुने गरेको छ । हरेक किसानले साग रोप्ने गर्छन् त्यही सागलाई गुन्द्रुक बनाए वर्षै सम्म प्रयोग गर्न सकिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ र यसलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ । छिप्पिएको रायो, तोरी, मुलाका पात टिपेर घाममा केही दिन आइलाइन्छ । त्यसलाई ढिकीमा अथवा कुनै प्रविधिबाट कुच्याईन्छ र गहिरो खाडलवा प्लाष्टिकको भाँडोमा खाँद्यने गरिन्छ । खाडलमा लगाइएको भने खाल्डो माथी पुरेपछि आगो बालेर तताइन्छ । प्लाष्टिकको भाँडोमा लगाइएको भए तातो ठाउँमा राखिन्छ । यसरी लगाइएको २२ देखी दुई महिनामा यसलाई बाहिर निकालिने गरिएको छ । खाल्डोमा लगाइएको भए माटो नलागोस् भनेर वरिपरि बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल आदि लगाएर बिचमा खाँदेर छोपिन्छ । साग अनुसार अट्ने खाल्डो खनिएपछि त्यलाई समेत केही दिनभित्र आगो बालेर तातो पारिन्छ । लगाइएको प्राय २२ देखि एक महिनामा यसको स्वाद अमिलो हुन्छ । निकालेर आवश्यकता अनुसार काटेर घाममा सुकाइन्छ । यसरी तयार पारिएको वस्तुलाई हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौँसम्म खान सकिन्छ । यसलाई तरकारी वा अचार बनाएर पनि खाने गरिन्छ । सिन्की र गुन्द्रुक बनाउने तरिका एउटै हो । मुलाबाट सिन्की निर्माण हुन्छ भने सागबाट गुन्द्रुक तयार हुन्छ । यस्तो बस्तु हाल थकाली भान्सा देखी चारतारे होटलहरुमा समेत पछिल्लो समय अत्याधिक चल्न गरेको छ । नेपालमा हाल पनि वढिजसो मानिस कृषिमा लागेका छन् । हरेक निर्वाचन अघि उम्मेद्धार र पाटीले घोषणा पत्रमा नै कृषिलाई प्राथमिकतामा राख्ने ताउँदै आएको छ । तर उल्लेख्या काम गर्न नसक्दा किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न नै पाउँदैन । बजार पुगे पनि उचित मुल्य पाउन नै सकेको छैन । किसानका उत्पादन बजारीकरण गर्ने बाचा गरेका नेताले जितर माथी पेग्छन् तर भोट दिने जनता जहिँको तहिँ भइरहेका छन् । चुनाव अघि तीनै जनतासँग निउरिने नेता चुनाव जिते पछि किसान प्रति कुनै योजना बनउँदैनन् । त्यसले पनि किसानका उत्पादन सदुपयोग हुन सक्दैनन् । उत्पादित वस्तु बजारीकरण हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङ गाउँपालिकाले प्रयास थालेको छ । यो प्रयासले निरन्तरता पाउन सके किसानको जनजिविकाका क्षेत्रमा निकै महत्वपुर्ण मानिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार