नेपालको शानदार सुरुवात : पहिलो टी-२० खेलमा अमेरिका १७ रनले पराजित 

शुक्रबार, ०२ कार्तिक २०८१
किशोर पोखरेल सिन्धुली : नेपालले अमेरिकासँग जारी तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो खेल जित्दै शानदार सुरुवात गरेको छ। अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले १७ रनको जित हासिल गर्दै सिरिजमा १–० को अग्रता लिएको छ। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनको सम्मानजनक स्कोर खडा गर्‍यो। कप्तान रोहित पौडेलको ४९ रनको जिम्मेवार पारीले नेपालको पारीलाई बलियो बनाए। साथै, दीपेन्द्रसिंह ऐरीले २८ रन बनाएका थिए भने ओपनर द्वय अनिल शाह र आसिफ शेखले समान २७–२७ रन जोडेका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंह र हर्मित सिंहले समान २–२ विकेट लिएका थिए। १६५ रनको लक्ष्यसामु अमेरिकाले २० ओभर खेल्दै १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गाउसले ३० रन बनाए भने मिलिन्द कुमारले २२ रन बनाए ।शयान जाहाङ्गीरले सर्वाधिक ६० रनको योगदान दिएर टोलीलाई जित दिलाउने प्रयास गरेका थिए तर नेपालको उत्कृष्ट बलिङ अघि अमेरिकी टोली दबाबमा पर्‍यो। नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने गुल्शन झा, करण केसी र रिजन ढकालले समान १–१ विकेट लिएर अमेरिकाको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। नेपाल र अमेरिकाबिचको दोस्रो टी-२० खेल आउँदो आइतबार खेलिने छ, जहाँ नेपाल सिरिज जित्ने दाउमा हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार