मोरङको ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वासलाई दियो टिकट

शनिबार, २४ कार्तिक २०८१
विराटनगर : सत्तारुढ दल नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाउने भएको हो । उनी पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष हुन् । एमाले नेताहरूका अनुसार विश्वास २०६८ अघिसम्म विदेशमा थिए । विदेशबाट फर्किएर पार्टीमा सक्रिय भएका उनले अहिले अध्यक्षको टिकट पाएका छन् । एमालेको शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो । बैठकले देशभरका उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको नेताहरुले बताएका छन् । एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने विश्वासलगायत ३ जनाको नाम सिफारिस गरेर पठाइएको जानकारी दिए । उनका अनुसार विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई पठाइएको थियो । प्रदेशले केन्द्रमा पठाएपछि सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो । यसअघि नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्व वडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार