इटहरी : पहिचान पक्षधरले कोशी नामकरणविरूद्धको आन्दोलन पुनः सुरू गरेका छन् ।
प्रदेश राजधानी विराटनगरस्थित कोशी नामकरण खारेजीको मागसहित पुनः आन्दोलन सुरू भएको हो । आइतबार विराटनगरको महेन्द्र चौकबाट आन्दोलन सुरू भएको छ । अहिले कोणसभा भइरहेको छ ।
कोणसभामा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतो, माओबादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालसहितका शीर्ष नेताहरू सहभागी छन् ।
१७ फागुन २०७९ मा प्रदेशको नामकरण कोशी प्रदेशसभामा बहुमतले पारित भएको थियो । त्यससँगै पहिचान पक्षधरहरूले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने मागसहित आन्दोलनको सुरूआत गरेका थिए ।
प्रदेशका १४ वटै जिल्लासहित राजधानी विराटनगरमा आन्दोलन जारी थियो । आन्दोलनकै क्रममा चैत ५ २०७९ मा लाठी लागेर घाइते भएका पदम लिम्बू लाजेहाङको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।
उनको मृत्युपछि पहिचान पक्षधरहरू थप आन्दोलित बन्दै आएपनि पछिल्लोपटक भने सरकारले नै वार्ता समिति बनाएको थियो । तर, समितिले कुनै निष्कर्ष निकाल्न नसकेपछि पहिचान पक्षधरहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
नयाँ चरणको आन्दोलन घोषणा कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसाल, गोपाल किराँती, जसपा नेपालका सहअध्यक्ष पूर्वमन्त्री रकम चेम्जोङ, कार्यकारिणी सदस्य जयराम यादव, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायतले सम्बोधन गर्ने बताइएको छ ।
कोशी प्रदेशसभामा कूल ९३ जना सांसद छन् । एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
नामकरणको मत विभाजनमा पक्षमा कोशीको पक्षमा माओबादीसहितका सांसदले मत खसालेका थिए । जसअनुसार पक्षमा ८२ मत परेको थियो । विपक्षमा ४ मत खस्दा ६ जना सांसद अनुपस्थित थिए ।
प्रतिक्रिया