विराटनगर । मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ कदमाहामा रहेको उखुबारीमा करिब ६–७ महिनाकी एक नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छिन् ।
मंगलबार साँझ करिब ६ः३० बजेतिर स्थानीयवासीले शम्भुप्रसाद यादवको उखुबारीमा नाबालिकालाई भेटेका हुन् । स्थानीयका अनुसार रोइरहेको सुनेपछि खोज्दै गएर हेर्दा त्यहाँ एक नाबालिका भेटिएकी थिइन् । त्यसलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा नाबालिका निरन्तर रोइरहेकी थिइन् । त्यहाँ उनका अभिभावक र आफन्त भेटिएनन् । नाबालिकालाई प्रहरीले स्थानीय सिजवना खातुनको जिम्मामा लगाएको थियो ।
नाबालिका कसकी हुन् र कसले उखुबारीमा छोडेको हो भन्ने कुरा अझै पत्ता लागेको छैन । प्रहरीका अनुसार अभिभावक वा आफन्त हालसम्म फेला परेका छैनन् । अनुसन्धान सुरु गरेर खोजी तीव्र पारिएको डीएसपी चुँडालले बताइन् ।
नाबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र संरक्षणका लागि उनलाई विराटनगर महानगरपालिका–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको उनको भनाइ छ । ‘बालिकाको पहिचान र अभिभावक पत्ता लगाउने प्रयास भइरहेको छ । तत्काल संरक्षणको व्यवस्था मिलाइसकेका छौं,’ डीएसपी चुँडालले भनिन्।
प्रहरीले घटनालाई संवेदनशील मानेर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जनाएको छ । नाबालिकालाई कुनै कारणवश त्यागेर उखुबारीमा छोडिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
स्थानीयले नाबालिकालाई यस्तो अवस्थामा सोच्न पनि नसकेको बताउँछन् । अभिभावक र आफन्तको खोजी गर्दै यस घटनाको अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया