पाँचथर : लगातार पहिरोका कारण अवरुद्ध भएको मेची राजमार्गको इलाम खण्ड अन्तर्गत पर्ने राजदुवाली क्षेत्रमा निर्माण गरिएको वैकल्पिक सडक सञ्चालनमा आएको छ ।
राजमार्ग अवरुद्ध भएको ११औं दिन जोगमाई खोलामा डाइभर्सन निर्माण सम्पन्न भएपछि करिब १२ किलोमिटर दूरीको वैकल्पिक सडक बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन इलामले राजदुवालीको सट्टा सिमल गोलाईबाट मोडिएर तिल्केनी निस्कने गरी वैकल्पिक सडक खोलेको जनाएको छ ।
जोगमाई खोलामा १४ वटा ह्युम पाइप र केही क्यानल पिस प्रयोग गरी पानी कटाएर अस्थायी सडक बनाइएको हो । उक्त कामका लागि सडक डिभिजनले पाँचथरबाट ह्युम पाइप झिकेको थियो ।
सडक खुलाउन सडक डिभिजन कार्यालयका प्राविधिकसँगै स्थानीय सरोकारवाला निकायहरू पनि रातारात खटिएका थिए ।
डाइभर्सन पूरा भएपछि ताप्लेजुङ, पाँचथर र इलामबाट झापातर्फ झर्दै गरेका तथा झापाबाट पहाडतर्फ गइरहेका सवारी साधन आ–आफ्ना गन्तव्यतर्फ गइसकेका छन् ।
सडक डिभिजनका अनुसार वैकल्पिक बाटोबाट साना सवारी साधन सहजै सञ्चालनमा आएका छन् । तर, ठूला मालबाहक र गह्रुंगा सवारी साधन चलाउन सकिने वा नसकिने विषयमा भने अझै प्राविधिक मूल्यांकन बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया