नेताको घेराभित्र कार्यकर्ताको आवाज दबियो : एमालेमा पुस्तान्तरणको बहस निष्प्रभावी

विहीबार, ३० असोज २०८२

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी(एमाले)मा नेतृत्व हस्तान्तरणको बहस क्रमशः निष्क्रिय बन्दै गएको छ ।

बुधवारबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आम कार्यकर्ताको भावना विपरीत केन्द्रीय कमिटीको हवाला दिँदै सडक र सञ्जालको दबाबमा परेर नेतृत्व नछाड्ने सन्देश दिए ।

बैठकमा राजनीतिक प्रतिवेदनमार्फत आगामी २७ देखि २९ मङ्सिरमा पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि सोअघि नेतृत्व हस्तान्तरण या कार्यवाहक जिम्मेवारीको बहसको ढोका बन्द गरिदिएका छन् ।

‘नेताको घेराभित्रबाट कार्यकर्ता भावनाको अपमान’

बैठकमा बोल्ने नेताहरू खुलेर ओलीको यस कदमको विरोधमा उत्रन नसकेको फाइदा उठाउँदै ओलीले देशभरका एमाले कार्यकर्ताको भावना विपरीत नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई निरर्थक बनाउन खोजेको भन्दै एमालेका कार्यकर्तामा तीव्र असन्तुष्टि छ ।

यस असन्तुष्टिलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीमा उपस्थित ओलीले पुरानै शैलीमा प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा आफूले कहिल्यै गल्ती नगरेको जिकिर गरे । आफू कहिल्यै नबिग्रिएका कारण सप्रिनुपर्ने निरर्थक बहसमा नलाग्न उनले नेतामार्फत कार्यकर्ता र जनतालाई सन्देशसमेत दिएका छन् ।

सामाजिक सञ्जालबाट नेतृत्व छोड भन्दैमा नेतृत्व छोड्ने कुरा ठिक नभएको भन्दै उनले कमिटीमै यस’boutमा छलफल गर्नुपर्ने जनाएका छन् ।

‘पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ,’ अध्यक्ष ओलीले भने, ‘मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो, कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु, यस कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।’

जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बिच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । एमालेसहित प्रमुख दलमा नेतृत्व हस्तान्तरणको बहस जारी रहेका बेला बसिरहेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन् ।

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनको छलफलमा सहभागी नेताहरूले नेतृत्व हस्तान्तरणको सुझाव दिएका छन् । तर, ओलीले तत्कालै नेतृत्व छोड्न नसक्ने भन्दै विभिन्न दाबी पेस गरेका छन् । यसले एमालेमा निरर्थक नेतृत्व हस्तान्तरणको बहस भन्दै आलोचना भएको छ । केन्द्रीय कमिटीदेखि सचिवालयसम्मका नेताहरूले नेतृत्व हस्तान्तरणको माग उठाएका छन् । जारी केन्द्रीय कमिटी बैठकबाट यस’boutमा निर्णय हुने बताइन्छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै भएको दाबी गरे । उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

यसअघि यही २६ असोजमा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिरमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बैठकमा २७ देखि २९ मङ्सिरमा पोखरामा महाधिवेशन गर्ने विशेष प्रस्ताव ओलीले गरेका छन् ।

यस्तै, ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्ने बताएका छन् । उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको दाबी गरे ।

यस्तै, ओलीले एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वानसमेत गरेका छन् ।

अध्यक्ष ओलीले राखेको महाधिवेशनको प्रस्तावमा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नुपर्ने हुन्छ । यस्तै, बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ ।

बैठकमा सबै केन्द्रीय सदस्यलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं नीरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जनाएका छन् ।

ईश्वरले बोल्न खोजेपछि बैठकमा होहल्ला

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोल्नका लागि समय माग गरेपछि केहीबेर होहल्ला भएको छ । बैठकका वरिष्ठ उपाध्यक्ष पोखरेलले बोल्न समय दिनुपर्ने बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको मागभन्दा विपरीत महासचिव शङ्कर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्रै बोल्न पाउने र पदाधिकारीले बोल्न नपाउने बताएपछि चर्काचर्की भएको थियो । बैठकमा सहभागी केही केन्द्रीय सदस्यले पदाधिकारीले पनि बोल्न पाउनुपर्ने माग गरेका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष पोखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर मानिन्छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारी सक्रिय राजनीतिमा आउन पाउनुपर्ने पक्षमा वकालत गर्दै आइरहेका छन् भने ओली पक्षधर नेताहरू भण्डारी सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् ।

बुधवारको केन्द्रीय समिति बैठकमा पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति भण्डारीकै कुरा निकाल्ने भएपछि उनलाई रोकिएको भन्दै केही केन्द्रीय सदस्य आक्रोशित बनेका हुन् ।

एकीकृत समाजवादीका नेतालाई एमाले फर्किन अपिल

ओलीले एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै पुरानै पार्टीमा फर्किन आग्रह गरेका छन् । बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई मूल घरमै फर्किन आग्रह गरेका हुन् ।

एमाले निर्माणमा एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्ताको पनि उत्तिकै भूमिका रहेको भन्दै ओलीले आश्रय खोज्दै अन्यत्र नभौँतारिन भने । ‘समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसूँ भनेर झोली तुम्बा बोकेर कुद्दै छन्, म कार्यकर्ता साथीहरूलाई भन्न चाहन्छु, तपाईँ आफैँले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस्, कुनै चौतारी खोज्न नजानुस्,’ ओलीले भने ।

ओलीले पार्टी एकताका लागि खुलेर आह्वान गरिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने माओवादीसँग एकता गरेर अगाडि बढ्ने पक्षमा छन् । लामो समयदेखि माओवादीसहितको समाजवादी मोर्चामा रहेको एकीकृत समाजवादी माओवादीसहितको दलसँग एकता गर्ने पक्षमा छ ।

एकताका लागि एकीकृत समाजवादीले समिति नै बनाएर प्रक्रिया अगाडि बढाइरहेको छ । माओवादीसँग एकता हुँदै गर्दा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका केही नेता एकताको विरोधमा रहेका छन् ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार