धुलिखेल: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व वैकल्पिक राजनीतिक शक्तिहरूले गर्नुपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको बनेपामा आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्ने सबै शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्न सक्ने धारणा राखे।
“विकल्पिक शक्ति भनेर आएका सबै मिलेर अघि बढ्नुपर्छ,” मन्त्री घिसिङले भने, “अबको निर्वाचनपछि बन्ने सरकार कस्तो हुन्छ भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण छ। त्यसको नेतृत्व वैकल्पिक शक्तिले गर्नुपर्छ, र उज्यालो नेपाल पार्टी त्यसको केन्द्रमा रहन सक्छ।”
उनले पार्टी नेतृत्वलाई सबैलाई समेट्दै अघि बढ्न आग्रह गर्दै राजनीतिक यात्रामा चुनौतीहरू स्वाभाविक हुने र ती चुनौती सामना गर्न सके मात्र परिवर्तन सम्भव हुने बताए। जेनजी पुस्ताको आन्दोलनपछि बनेको वर्तमान राजनीतिक अवस्थाले आगामी निर्वाचन र त्यसपछिको सरकार अझै निर्णायक हुने उनको भनाइ थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अनुशासन र इमान्दारितासहित अघि बढ्नुपर्ने बताए। अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले विद्युत् क्षेत्रमा कुलमान घिसिङको नेतृत्वमा अँध्यारोबाट उज्यालोतर्फ भएको परिवर्तन जस्तै अब देशको समग्र विकासमा पार्टीले भूमिका खेल्ने दाबी गरे।
केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर मात्र देश निर्माण सम्भव हुने बताइन्। कलाकारितालाई आफ्नो पेशा बनाए पनि इमान्दार र लगनशीलताका कारण राजनीतिमा होमिएको उल्लेख गर्दै उनले युवाहरूले रोपेको राजनीतिक चेतनाको बीउलाई संस्थागत गर्न आफू सक्रिय भएको बताइन्।
भेलामा केन्द्रीय सदस्यहरू जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।
जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा उज्यालो नेपाल पार्टी काभ्रेपलाञ्चोक जिल्ला समिति गठन गरेको छ। साथै युवा हेर्ने समितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मेवारी दिइएको छ। समिति पछि पूर्णता दिइने जानकारी केन्द्रीय सदस्य जितराम लामाले दिए।
प्रतिक्रिया