दुर्घटनामा बालिकाको मृत्यु अपडेट : हवाई फायर र अश्रुग्यास प्रहारपछि भीड नियन्त्रणमा, स्थिति सामान्य

आइतबार, ०२ मंसिर २०८१
इटहरी : इटहरी १० मा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको घटनामा अहिले भीड नियन्त्रणमा आएको छ । विद्यालयबाट घर आउँदै गर्दा तीव्र गतिको बसले किशोरीलाई ठक्कर दिएको थियो । इटहरी हुँदै विराटनगरतर्फ जाँदै गरेको नागरिक यातायातको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सजना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत थिइन् । बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित भीडले बस जलाएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि पठाइसकिएको जानकारी दिए । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट जलेर बस पूर्ण रूपले ध्वस्त भएको छ । दुर्घटनापछि खनार क्षेत्र तनावग्रस्त बनेको थियो । बाक्लो संख्यामा परिचालित भएका प्रहरीले हवाई फायर गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । अश्रुग्यास पनि प्रहार गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना, जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीलगायतका प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार प्रहार गरेपछि भीड नियन्त्रणमा आएको छ । अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार