इटहरी दुर्घटना अपडेट : इन्स्पेक्टरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, एसपीसहित २१ प्रहरी घाइते

आइतबार, ०२ मंसिर २०८१
इटहरी : इटहरी १० मा बसको ठक्करबाट स्थानीय १३ वर्षीया सजना यादवको मृत्यु भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । आइतबार दिउँसो ४ः३० बजेतिर झापाको काकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार रहेकी सजनालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । बाक्लो संख्यामा भेला भएका स्थानीयबासीले बस जलाउनुका साथै प्रहरीमाथिसमेत ढुंगामुढा गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले भीड नियन्त्रणमा लिनका लागि हवाई फायरसहित अश्रुग्याँससमेत प्रहार गरेको थियो । घटनाको छानबिन गर्नका निम्ति प्रहरीले पाँच सदस्यीय समिति गठन गरेको सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र पराजुलीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । आइतबार राति इटहरीमा मेयर हेमकर्ण पौडेलसहित सुनसरीको सुरक्षा समितिको बैठक बसेको थियो । ‘जिल्ला सुरक्षा समितिको बैठकले पाँच सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ,’ एसपी तिम्सिनाले प्रदेश खबरसँग भने, ‘यो घटनाबारे हामी गम्भीर भएका छौँ । सुक्ष्म ढंगबाट अनुसन्धान हुन्छ ।’ छानबिनपछि निष्कर्ष आएपछि दोषीलाई कुनै पनि हालतमा कारबाही हुने उनले बताए । ‘घटनास्थलको सीसी टिभी फुटेज हेरेर हामी सुक्ष्म किसिमबाट अध्ययन गछौँ,’ एसपी तिम्सिनाले भने । काकडभिट्टाबाट विराटनगरतर्फ जादैँ गरेको प्रदेश १–०१–००१ ख. ४५७४ नम्बरको बसले इटहरी उपमहानगरपालिका वडा नं. १० सुमरटका टोल बस्ने १३ वर्षीया सजनालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएपछि स्थानीयबासी आक्रोशित बनेका थिए । घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय पकली र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट एक सय १८ जनाको सुरक्षा टोली खटिएको थियो । सुनसरी प्रहरीका एसपीसहित २१ प्रहरी घाइते आक्रोशित स्थानीयबासीले ढुंगामुढा प्रहार गर्दा सुनसरी प्रहरीका एसपी तिम्सिनासहित २१ जना प्रहरी घाइते भएका छन् । एसपी तिम्सिनाको खुट्टामा चोट लागेको छ । यसैगरी सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्यको हातमा चोट लागेको छ । इटहरीका डीएसपी लक्ष्मी भण्डारीको देब्रे खुट्टामा चोट लागेको छ भने सुनसरीका डीएसपी रामप्रसाद तिमल्सिनाको छातीमा सामान्य चोट लागेको छ । यसैगरी प्रहरी निरीक्षक सागर तिमल्सिना, प्रहरी सहायक निरीक्षक आनन्द पोख्रेल, प्रहरी हवल्दार गोमा राउत, प्रहरी सहायक निरीक्षक भूपराज पोख्रेल, प्रहरी वरिष्ठ हवल्दार समीर सापकोटा, अयोधी यादव, हवल्दार सरोज पोख्रेल, श्याम नारायण यादव, कल्याणी आचार्य घाइते भएका छन् । यसैगरी सहायक प्रहरी हवल्दार राकेश न्यौपाने दीपक राई, लोकनाथ धमला, असोक राई, प्रहरी जवान गणेश तिमल्सिना, सुमन खड्का, सन्दीप कुमार मोक्तान र प्रकाश दाहाल घाइते भएका छन् । सबैजनाको अवस्था सामान्य रहेको छ । यो पनि – ‘बसले ठक्कर दिएपछि मलाई नमार भन्दै थिइन्, ब्याक गरी किचेर मा¥यो,’  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार