इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताएका छन् ।
परिषद्को पुनःसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पुनःसंचरना प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले परिषद्ले आवश्यक्तालाई ध्यानमा राख्दै आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद् पुनःसंरचना गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सिटिईभिटीले कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।
प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरूको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषद्ले यस सम्बन्धी जनशक्ति उत्पादन गर्ने गरी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
उनले स्पष्ट रणनीति र कार्यनितिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको अभावमा ताला लगाउनुपर्ने अवस्थामा सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा गहिरो छलफल गरी सार्थक निष्कर्षमा पुर्याउनु जरूरी रहेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई छ महिनाको सूचना प्रविधिको तालिम एवं ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने कार्य अगाडि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषदले तालिम दिनुपर्ने सुझाव दिए ।
नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गरे ।
परिषद्का सदस्य सचिव इन्जिनियर मोहन भट्टराईले व्यवसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरूरी रहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले परिषद्को विकेन्द्रीकरणगरी प्रदेश सरकारको नेतृत्वमा परिषद सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिए ।
प्राविधिक परिषद पुनःसंरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यवसायिक तालिमको स्तरवद्धि गर्न नागरिक शिक्षा, वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइन् ।
प्रतिक्रिया