विराटनगर : विराटनगरमा रहेको जय मिडिया म्यानेजमेन्ट प्रालिले ‘मिस्टर एण्ड मिस लिटल कोशी’ प्रतियोगिताका नाममा विवादास्पद गतिविधि गरेको पाइएको छ ।
प्रतियोगिताका नाममा ठगी धन्दा चलाएर बालमनोविज्ञानमा खेल्ने र अभिभावकसँग रकम असुल्ने गरेको फेला परेको हो ।
मिडियाको नामबाट बर्सेनि ‘मिस्टर एण्ड मिस लिटल कोशी’ आयोजना हुने गरेको छ । तर, सबैजसो प्रतियोगिता विवादित हुँदै आएका छन् ।
नियमनकारी निकायको फितलो अनुगमन र कारबाहीको फाइदा उठाउँदै पछिल्लोपटक मिडियाले सातौं संस्करणको प्रतियोगिता विराटनगरमा गरेको थियो ।
विभिन्न समयका ‘मिस कोशी’ र ‘मिसेस कोशी’ प्रतियोगिता पनि विवादमा परेका थिए । कतिपय प्रतियोगिताका विजेताले घोषित पुरस्कारसमेत नपाइरहेको गुनासो गरेका छन् । विजेतलाई दिनुपर्ने ‘क्राउन’समेत नदिने गरेको पाइएको छ ।
आयोजकले आफूलाई आर्थिक लाभ हुनेगरी प्रतियोगिता आयोजना गर्दै विजयी घोषित गर्ने गर्दा प्रतिभावान बालबालिका मर्कामा परेका छन् ।
गएको शनिबार राति सम्पन्न सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटल कोशी’को फाइनलमा पनि पुरानै रोग बल्झिएको छ ।
अभिभावकले विराटनगरमा पत्रकार सम्मेलन गरी जय मिडियाले धाँधली गर्दै विजेता घोषित र अन्य उपाधि वितरण गरेको गुनासो राखेका थिए । उनीहरूले उक्त प्रतियोगिताको निष्पक्ष छानबिन गर्दै मिडियाका सञ्चालकहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
फाइनल चरण पुगेका सात जना प्रतियोगीका अभिभावकले जय मिडियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारीसमेत गरेका छन् । प्रतियोगिता निष्पक्ष नभएकाले प्रहरी प्रशासनले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उनीहरूको छ ।
अभिभावक राकेश दत्तले आयोजकले आर्थिक लोभमा धाँधली पूर्ण तवरबाट विजयी घोषणा गरेको बताए । अन्तिम समयसम्म भोटको अग्रपंक्तिमा रहेकालाई कुनै उपाधि नदिइ हटाइएको उनको भनाइ छ ।
अन्य यस्ता प्रतियोगितामा कार्यक्रम सुरु हुनअघि नै ‘भोटिङ सिस्टम’ बन्द हुन्छ । तर, उक्त प्रतियोगिता सम्पन्न हुनुभन्दा केही मिनेट बाँकी रहँदासमेत ‘भोटिङ’ खुला रहेको प्रचार आयोजकले गरेको थियो ।
‘प्रतियोगिता सकिने चरणमा पनि ‘भोटिङ’ खुला रहेकाले आफ्ना नानीबाबुलाई भोट गर्न सक्नुहुन्छ भनिरहे,’ दत्तले भने, ‘चलखेल भएको थाहा पाएपछि मैले अन्तिम समयमा ‘भोटिङ’ गर्न छोडिदिएँ ।’
उनले आफूलगायत परिवार, आफन्त र साथीभाइमार्फत एक लाख ६२ हजार रूपैयाँ बराबरको ‘भोटिङ’ गर्न लगाएको बताए ।
‘भोटिङमा मेरो बच्चा (छोरी) अगाडि थियो । तर, अन्तिम समयमा नाम हटाइएछ । मैले तत्कालै आयोजकसँग ‘डिटेल्स’ माग्दा दिन सकेनन् । केही समयमा एउटा ‘एक्सलसिट’मा ‘डाटा’ ल्याएर देखाए । तर, त्यो गलत र काल्पनिक थियो । आयोजकले यहाँभन्दा धाँधली गर्ने ठाउँ छैन,’ दत्तले भने ।
प्रतियोगिता फाइनलको राति ९ः५० बजेसम्म आफ्नी छोरीको ‘भोटिङ रेङकिङ’ पहिलो स्थानमा रहेको बताउँदै उनले ‘भोटिङ’को आधारमा दिइने ‘अवार्ड’ अर्कै प्रतियोगीलाई दिइएको गुनासो गरे । ‘टप’ २६ छनोटमा समेत धाँधली भएको अभिभावकको भनाइ छ ।
‘टप २६ छनोट गर्दा निर्णायकको हस्ताक्षर नै थिएन । यसमा हाम्रो शंका छ । त्यसैले छानबिन हुनुपर्छ,’ उनी भन्छन् ।
प्रतियोगीका अभिभावकहरू विमल बस्नेत, सुरेशकुमार चौधरी, दीपिका डंगोल र राकेश दत्तलगायत १०–१२ जनाले एकैपटक पत्रकार सम्मेलन गरेका हुन् । उनीहरूको एउटै माग थियो, ‘प्रतियोगिताको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’
आफूलाई नपरी केही थाहा नहुने रहेछ भन्दै उनीहरू भन्छन्, ‘यसअघिका प्रतियोगिता पनि विवादित तरिकाले सम्पन्न गर्दै आयोजक फरार हुने गरेका रहेछन् । बल्ल थाहा भयो ।’
अभिभावकहरूले आयोजकले स्कुल–स्कुलमा गएर साना नानीहरूलाई फकाउँदै उनीहरूको बालमनोविज्ञानमा खेल्ने गरेको गुनासो गरेका छन् ।
‘बालबालिकालाई ‘इमोसनल ब्ल्याकमेल’ गर्दै साना नानीहरुको जिद्दी गर्ने बानीको फाइदा उठाउँदा रहेछन् । नानीहरूले जिद्धी गरेपछि अभिभावकले नकार्न सक्दैनन् भन्ने आयोजकले नबुझ्ने कुरै भएन । नानीहरूले जबरजस्ती गरेपछि प्रतियोगितामा पठाउन हामी बाध्य भयौं । तर, अभिभावकसँग असुल्ने काम मात्रै भयो’ उनीहरूले भने ।
[caption id="attachment_73285" align="alignnone" width="1600"] पत्रकार सम्मेलन गरी जानकारी दिइँदै ।[/caption]
प्रतियोगिता हेर्न एक हजार दरका टिकट अनिवार्य काट्नुपर्ने बाध्यता बनाइएको थियो ।
‘टिकट नकाटे आफ्ना सन्तानको प्रस्तुति हेर्नसमेत नपाइने भएपछि टिकट काट्न बाध्य भयौं । तर, त्यत्रो रकम तिर्दा एक बोतल पानीसमेत दिएनन्,’ अभिभावक विमल बस्नेत भन्छन्, ‘प्रतियोगिताका नाममा अभिभावकलाई लुट्ने काम भयो । प्रतियोगितामा पूर्ण धाँधली भयो ।’
उनका अनुसार प्रतियोगितामा सहभागी गराएबापत एक जना सन्तानको १६ हजार रूपैयाँ तिर्न लगाए । प्रतियोगीहरूलाई लाने, ल्याउनेदेखि उनीहरूलाई खाजा, पानी र विभिन्न पोसाकको व्यवस्थासमेत अभिभावकले व्यवस्थापन गर्नुपरेको बस्नेत बताउँछन् ।
उनका अनुसार फाइनलका लागि धेरै टिकट बेचे त्यसअनुसार बच्चाले उपाधि जित्ने भन्दै प्रत्येक अभिभावकलाई जबरजस्ती कोटा दिएर टिकट बिक्री गर्न लगाइयो ।
अभिभावकमध्येका राकेश दत्तले फाइनलमा परिवारका लागि आफूले मात्रै १९ हजारको टिकट काटेको सुनाए ।
प्रहरीकै संरक्षणमा कार्यक्रम सम्पन्न
राति १२ बजेसम्म लगाएर सम्पन्न गरिएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई थिइन् ।
प्रहरी प्रशासनले अन्य कुनै पनि कार्यक्रम राति १० बजेपछि गर्न दिँदैन । तर, यो प्रतियोगिता मध्यरातसम्म प्रहरीकै संरक्षणमा सम्पन्न भयो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी आयोजक संस्थाले लिखित रुपमा शान्ति सुरक्षाको माग गरेको हुँदा प्रतियोगिताको फाइनलमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको बताउँछन् । ‘आयोजकको प्राविधिक समस्याले गर्दा कार्यक्रम समयमा सुरु हुन सकेन । त्यही भएर कार्यक्रम पनि ढिला सकियो,’ उनले भने ।
प्रशासनको अनुमति बिनै कार्यक्रम
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रदीप साहले जय मिडियालाई कार्यक्रम गर्नका लागि प्रशासनले कुनै अनुमति नदिएको बताए । उनले भने, ‘हामीले कसैलाई पनि कार्यक्रम आयोजना गर्न अनुमति दिँदैनौं ।’
विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगतले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै जय मिडिया म्यानेजमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेको साहको भनाइ छ । ‘त्यस पत्रका आधारमा सीडीओ सरले शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लेखी पठाउने आदेशानुसार प्रहरीलाई पत्र पठायौं,’ उनले भने ।
तर, आयोजक जय मिडियाका सञ्चालक जयराज राय भने निष्पक्ष रूपमा कार्यक्रम सम्पन्न भएको दाबी गर्छन् । उनले फाइनलमा ७९ जना प्रतियोगीमध्येबाट ‘टप २६’ छनोट गरिएको बताए । ‘सबै छनोट निर्णायकहरूले गर्ने भएकाले यसमा हाम्रो कुनै संलग्नता हुँदैन,’ रायले भने ‘आरोप लगाएजस्तो धाँधली प्रतियोगितामा भएको छैन ।’
एउटा सानो त्रुटि भएको र थाहा पाउनेवित्तिकै त्यसलाई सच्याइएको जिकिर उनको छ । ‘सानो गल्ती भयो । तत्काल सच्यायौं । हामीले माफी पनि मागेका छौं,’ राय भन्छन् । कार्यक्रम निष्पक्ष र धाँधलीरहित हिसाबले सम्पन्न गरेको सबै ‘डुकुमेन्ट’ आफूसँग सुरक्षित रहेको उनले बताए ।
जय मिडियाले पछिल्लो केही समय विराटनगरमा कार्यक्रम आयोजना गरेन । सुनसरीको इटहरीलाई केन्द्र बनाएर कार्यक्रम गर्न थाल्यो । त्यहाँ पनि यस्तै ‘असुली’ विवादमा मुछियो । त्यतिबेला इटहरीमा अभिभावकमाथि ठगी गरेको विषय बाहिरिएको थियो ।
२०७९ सालमा इटहरीमा सम्पन्न भएको ‘मिसेस कोशी’को उपाधि विजेता सम्झना थापाले अहिलेसम्म पुरस्कारबापत दिइने भनिएको स्कुटर नपाएको गुनासो गरिन् । आयोजकलाई बारम्बारभन्दा पनि आजभोलि भन्दै टार्दै आएको र हालसम्म नदिएको उनको गुनासो छ ।
संस्थाको नवीकरण नै छैन
विराटनगर महानगरपालिकाभित्र कुनै पनि किसिमका मेला वा अन्य टिकट बिक्री हुने प्रकारका कार्यक्रम आयोजना गर्दा महानगरलाई करबापत आयोजकले अग्रिम शुल्क बुझाउनुपर्ने नियम छ । तर, जय मिडियाको प्रतियोगिताका बारेमा कुनै समन्वय र जानकारी नभएको महानगरले जनाएको छ ।
महानगरसँग समन्वय वा महानगरको पनि लगानीमा कुनै कार्यक्रम भएमा त्यो सम्पन्न भएपछि त्यसबापतको कर महानगरलाई बुझाउनुपर्छ । तर, जय मिडियाले पछिल्लो ३ वर्षदेखि संस्था नै नवीकरण गरेको छैन । कार्यक्रम गरेबापत तिर्नुपर्ने करसमेत नतिरेको महानगरको राजस्व महाशाखाले जनाएको छ ।
कार्यक्रमबाट उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेश सरकारको कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । तर, जय मिडियाले हालसम्म कुनै शुल्क महानगरलाई नबुझाइकन कर छली गरिरहेको छ ।
आर्थिक वर्ष २०७८।०७९ सम्मको कर बुझाएको मिडियाले पछिल्लो तीन आर्थिक वर्ष (२०७९।०८०, २०८०।०८१ र २०८१।०८२)को व्यावसायिक कर बुझाएको छैन । व्यवसाय दर्ता भने विराटनगर महानगरपालिका–११ मा गरिएको छ ।
विराटनगरभित्र कार्यक्रम गर्दा आयोजकले महानगरसँग अनुमति लिनुपर्छ । महानगरले दिएको अनुमति सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले कार्यक्रमको ढाँचा हेरी अनुकूलअनुसारको अनुमति दिने गरेको महानगरले जनाएको छ ।
मिडियाका सञ्चालक रायले भने करको विषय सबै ‘अडिटर’ले हेर्ने बताए । ‘यो सबै विषय अडिटरले हेर्छन् । त्यही पनि के भएको रहेछ, म बुझेर भन्छु । तर, हामीले सबै कर महानगरलाई बुझाइसकेका छौं,’ जयराज रायले भने ।
प्रतिक्रिया