झापामा जेनजी आन्दोलन हिंस्रकः विद्यार्थीदेखि महिला सम्म पक्राउ, अस्पतालमा घाइतेको भीड

मंगलबार, २४ भदौ २०८२

झापा :  झापाको दमकमा जेन–जी समूहको आन्दोलन सोमबार दिउँसो उग्र बन्दै जाँदा प्रहरीसँगको झडपमा परिणत भएको छ। आन्दोलनकारीले सडक अबरुद्ध गर्दै टायर बाल्ने, ढुङ्गा प्रहार गर्ने र विभिन्न सार्वजनिक सम्पत्तिमा तोडफोड गरेपछि स्थिति नियन्त्रण बाहिर गएर झडप चर्किएको हो। प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा दुवै पक्षबीच ठूलो संख्यामा घाइते भएका छन्।

प्रहरीले दमक, बिर्तामोड र आसपासका क्षेत्रबाट १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा परेकामध्ये बिर्तामोड नगरपालिका–५ का २३ वर्षीय विकास खतिवडा, ताप्लेजुङ याङवरक गाउँपालिका–१ का २९ वर्षीय संदेश बिक, कमल गाउँपालिका–६ का २६ वर्षीय आकाश राई, दमक–१ का १६ वर्षीय जिपसन धमला, कमल–४ की २१ वर्षीया जसमिन कुलुङ राई, दमक–५ की ३२ वर्षीया समिरा पोखरेल, दमक–७ का १८ वर्षीय मोहन साह, कमल–५ का २१ वर्षीय रुपेश धिमाल, दमकका १९ वर्षीय प्रितम भुजेल र दमक–९ का २४ वर्षीय देउशरण महतो रहेका छन्।

झडपमा परी आन्दोलनकारीतर्फ दर्जनौँ घाइते भएका छन्। घाइतेमध्ये कमल–५ का ३० वर्षीय प्रकाश भट्टराई, दमक–३ का २० वर्षीय भुपेन्द्र खड्का, गौरिगञ्ज–१ का २० वर्षीय सागर हेमरम, दमक–१ का १८ वर्षीय अभिषेक चेम्जोङ, उर्लाबारी–४ का १९ वर्षीय प्रयुस चौहान, शिवसतासी–११ की १८ वर्षीया युनिस दाहाल, इलाम चुलाचुली–३ का २४ वर्षीय साईन राई, कमल–५ का १९ वर्षीय अविनाश राई, दमक–१० का १७ वर्षीय औसन रिमाल, दमक–७ का १८ वर्षीय रोयल रिजाल, बिर्तामोड–५ का ३३ वर्षीय प्रदिप खरेल र बिर्तामोड–९ का १६ वर्षीय संदेश गिरी छन्। उनीहरूको दमक, बिर्तामोड, धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आन्दोलनका क्रममा ठूलो भौतिक क्षतिसमेत भएको प्रहरीले जनाएको छ। बिर्तामोड नगरपालिकास्थित ढुङ्गा हान्दा ५–७ वटा घरका झ्याल फुटेका छन्। दमक–९ मा पाथिभरा पेट्रोल पम्प नजिकै टायर बालिएको छ भने बिर्तामोड ट्राफिक प्रहरी पोष्टमा आगजनी हुँदा पूर्ण क्षति भएको छ। साथै मुक्तिचोक आसपास रहेका पाँच थान सिसिटिभी, पश्चिम स्टेण्डमा दुई थान र गरुवा स्टेन्डमा रहेका दुई थान सिसिटिभी तोडफोड गरी क्षति पु¥याइएको छ।

झडपपछि दमक र बिर्तामोड क्षेत्र अत्यधिक तनावग्रस्त बनेको छ। प्रहरीले थप अप्रिय घटना हुन नदिन थप सुरक्षा सतर्कता बढाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार