अपाङ्गता जस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन: सभामुख घिमिरे

बुधबार, १९ मंसिर २०८१
काठमाडौँ । सभामुख देवराज घिमिरेले अपाङ्गता जस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित अपाङ्गता भएका युवाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले भेदभाव रहित कानुन बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानुनहरू निर्माण भएतापनि कार्यान्वयनमा भने फितलो रहेको बताए । उनले भने, ‘संविधानले भेदभाव रहिद कानुन बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको सम्मानको कुराहरू पनि गरेको छ । कानुन बन्न निर्देशित गर्छ र बनेका पनि छन् । तर कानुनहरू कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमीहरू भइरहेका छन् । यो क्षेत्रको संवेदनशीलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्न सकिरहेको छैन । जति आत्मसाथ गराउन सक्छौँ त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’ उनले नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरूले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे । विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ । उनले भने, ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राजयका विभिन्न अङ्गहरूले यसलाई अपनाएर मात्रै सम्भव छैन । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरू कार्यान्वयन गर्ने आधार बन्न सक्छ । समावेशिताको लागि विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत कसरी वृद्धि गर्ने त्यो सोच्नु पर्छ । यो समुदायलाई आर्थिक रूपमा चाहिने न्यूनतम आवश्यकता परिपूर्ति गरेपछि मात्रै समावेशिताको लागि बलियो आधार बन्न सक्छ ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार