प्रहरीले बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन, अब के हुन्छ ?

सोमबार, ०१ पुस २०८१
पोखरा । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डिएसपी वसन्त शर्माले जानकारी दिए । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ । पोखराको सूर्य दर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डिआइजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो । उनीहरूमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ । जसअनुसार लामिछानेलाई प्रहरीले हिरासतमा लिएको आगामी शनिवार दुई महिना पूरा हुन्छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भर्खरै प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको र अध्ययनकै क्रममा रहेकाले मुद्दा अदालतमा पेस गर्नेबारे तयारी मात्रै भइरहेको बताइन् । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार सकिँदैछ । मङ्गलवार प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी छ । जिल्ला न्यायाधिवक्ता काफ्लेले मङ्गलवार पनि अदालतमा म्याद थपका लागि अपिल गरिने जानकारी दिइन्। ‘अनुसन्धान प्रतिवेदनको अध्ययन बाँकी छ । कुन–कुन कसुर आकर्षित हुन्छ भन्ने निर्क्योल गर्न समय लाग्ने भएकाले मङ्गलवार पनि म्याद नै मागिनेछ,’ उनले भनिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार