पत्रकारहरूको कलममा देश बनाउने र बिगार्ने क्षमता छ: पूर्व उपराष्ट्रपति झा

शुक्रबार, ०५ पुस २०८१
  काठमाडौँ । पूर्व उपराष्ट्रपति परमानन्द झाले पत्रकारहरूको कलममा देश बनाउने र बिगार्ने क्षमता भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित न्यूज लाइन्स् मिडिया प्रा लीको नवौँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले पत्रकारहरूले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘तपाईँको कलममा देश बनाउने र बिगार्ने क्षमता पनि छ । तरबारभन्दा कलमको महत्त्व बढी छ । त्यसैले पत्रकारहरूले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्छ । मिडियाको अधिकार, मिडियाले देश र समाजलाई दिनुपर्ने देन यही हो । थोरै लेखौँ, सत्य लेखौँ र देशलाई राम्रो हुने कुरा लेखौँ ।’ यस्तै, उनले मिडियाको अर्थ भनेको सत्य कुरा लेख्नु भएको भन्दै पत्रकारको कलममा निष्पक्षता रहेन भने मिडियाको काम प्रभावकारी नहुने बताए । उनले भने, ‘मिडियाको अर्थ मैले जानेसम्म साँचो कुरा लेख्ने हो । त्यसैले साँचो कुरालाई लेख्ने काम गर्नुपर्छ गरेन भने त्यो मिडिया दूषित मिडिया भन्न सकिन्छ, सरकार चलाउनको लागि तीन वटा संस्था हुन्छ तर चौथो सरकारी अङ्गको रूपमा मिडियालाई पनि लिइन्छ । त्यसैले पत्रकारहरूले झुटो कुरा लेख्नुभयो, निष्पक्षता तपाईँको कलममा रहेन भने मिडियाको काम प्रभावकारी हुँदैन ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार