चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

मंगलबार, १६ पुस २०८१
कञ्चनपुर । चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना । साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन । उनले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन् । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उनले भने, “डोरी बेचेरै पेट पालिएको छ ।” डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप एक सय दिन्छन् । फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्छन् । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन् । उनका अनुसार दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उनले भने, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई÷तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।” सानो आकारको जाल, मुखौरी दुई सय ५० र ठूलो आकारको पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उनकी श्रीमती ५४ वर्षकै उमेरमा बित्यो । कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन् । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उनले भने, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।