राष्ट्रपतिमाथि नै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

विहीबार, २० कार्तिक २०८२

काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम हालै एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको शिकार भएकी छन् । राजधानी मेक्सिको सिटीमा नागरिकहरूसँगको अन्तरक्रियाका क्रममा उनीमाथि एक पुरुषले गरेको दुर्व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार यो घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो । भिडिओमा स्पष्ट देख्न सकिन्छ, राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिरहेका बेला एक पुरुष उनको नजिक पुग्छन् । ती पुरुषले राष्ट्रपतिको काँधमा हात राखेर उनको घाँटीमा चुम्बन गर्छन् । राष्ट्रपति शेइनबाउमले तत्काल प्रतिक्रिया दिँदै ती पुरुषको हात हटाउँछिन् । उनले शान्तपूर्वक र हल्का हाँसेर नै स्थितिलाई सामान्य बनाउने प्रयास गर्छिन् । त्यसलगत्तै सरकारी अधिकारीहरू आएर ती पुरुषलाई राष्ट्रपतिको छेउबाट हटाएका थिए । तर, ती पुरुषले पुनः राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेको देखिन्छ ।

आश्चर्यजनक रूपमा, घटना भइरहँदा राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू त्यहाँ उपस्थित थिएनन् । केही समयपछि आएका सुरक्षाकर्मीले ती पुरुषलाई पक्राउ गरेका थिए । अनुसन्धानबाट ती पुरुष मदिराले लठ्ठ भएको खुलेको छ ।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति शेइनबाउमले उक्त व्यक्तिविरुद्ध जाहेरी दिने बताएकी छन् । उनले भनिन्, ‘यो घटना मैले एक महिलाको रूपमा भोगेकी हुँ, तर यो कुरा हाम्रो देशका सबै महिलाले भोगिरहेका छन् । यदि म आफैंले उजुरी नगर्ने हो भने अरू महिलाको न्यायको अवस्थाबारे के सन्देश जान्छ ?’

घटनाले मेक्सिकन सञ्चारमाध्यम र महिला अधिकारकर्मीहरूलाई थप मुखर बनाएको छ । उनीहरूले महिलामाथिको हिंसा र यौन उत्पीडनविरुद्ध कडा आवाज उठाएका छन् । पत्रकार क्याटालिना रुइज–नाभारोले यस घटनालाई पितृसत्तात्मक सोचको उपजका रूपमा व्याख्या गर्दै भनिन्, ‘जब राष्ट्रपतिलाई पनि कुनै पुरुषले छुन सक्ने अधिकार आफूसँग छ भन्ने ठान्छ, यही हो पितृसत्तात्मक सोच ।’

राष्ट्रपतिमाथि भएको यो दुर्व्यवहारको घटनाले मेक्सिकोको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ । केही दिनअघि मात्रै मिचोआकान राज्यको उरुआपान नगरका मेयर कार्लोस अल्बर्टो म्यान्जो रोड्रिगेजको गोली हानी हत्या भएको थियो । यस्तो संवेदनशील अवस्थामा राष्ट्रपतिको सुरक्षा व्यवस्था यति फितलो हुनुले आम नागरिकमा चिन्ता बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार