सुधनले गृहमन्त्रीको राजीनामा माग्दै भने– ‘जेनजीको माग पूरा नभए चुनाव हुन दिदैनौं’

विहीबार, २० कार्तिक २०८२

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेको र पदमा टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमान भएको बताएका छन्।

गुरुङले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन। देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”

उनले गृहमन्त्रीलाई पदबाट हट्ने आफ्नै वाचा सम्झाउन आग्रह गर्दै भनेका छन्, “काम गर्न नसके पद छोड्ने भन्नुभएको वाचा सम्झनुहोस्। अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भएको छ, न कुनै हत्याराको।”

गुरुङले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गर्दै थपे, “देशको हितका लागि लड्दा मैले भ्रामक समाचार र चरित्र हत्या सहें, तर कामले बोल्छ भन्नेमा विश्वास राखें। तर अब तपाईंबाट आशा मरिसकेको छ।”

उनले युवापुस्ता सचेत भइसकेको उल्लेख गर्दै गृहमन्त्रीलाई चेतावनी दिएका छन्, ‘चेतना होस्, चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्न गरिएको आन्दोलन होइन यो।”

गुरुङले चेतावनी दिँदै भनेका छन्, “यदि नेपाली जनता र जेन–जीका मागहरू सम्बोधन भएनन् भने यसपालिको चुनाव हुन दिइने छैन। अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार