मोरङको सुन्दरहरैँचामा भेटिएको सिलिन्डर बम सेनाले गर्यो डिस्पोज

विहीबार, २५ पुस २०८१
विराटनगर : मोरङको सुन्दरहरैँचामा भेटिएको सिलिन्डर बम सेनाले डिस्पोज गरको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै फेला परेको द्वन्द्वकालीन सिलिन्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार निष्क्रिय पारेको हो । सेनाको टोलीले २ वटा सिलिन्डर बम बिहीबार साँझसम्म लगाएर डिस्पोज गरेको हो । बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलास गर्दा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको चार वटा सिलिन्डर बिहीबार दिउँसो सेनाको टोलीले फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार सुन्दरहरैँचा–७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना जिल्ला प्रशासन कार्यालय मोरङमा आएको थियो । पूर्व–पश्चिम राजमार्गको गोठगाउँदेखि बेलगाछीसम्मको करिब २ किलोमिटर सडकमा बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन आवागमन तथा मानिसलाई आवतजावतमा रोक लगाएर संयुक्त सुरक्षा फौजले ‘सर्च’ गरेको थियो । ‘सर्च’ गर्ने क्रममा बम फेला परेको एसपी चिमरियाले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वका क्रममा माओवादीले बम राखेको जानकारी आएको थियो । खोजी गर्ने क्रममा फेला पर्यो । बम द्वन्द्वकालकै हो,’ उनले भने । बम डिस्पोजका लागि सवारीसाधनलाई ‘डाईभर्ट’ गरिएको थियो भने घटनास्थल वरपर आवतजावतमा रोक लगाइएको थियो । पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किनसक्ने जोखिम रहेको भन्दै बमका बारेमा माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले जनाएको छ । प्रहरीका अनुसार चार वटामध्ये दुई वटा सिलिन्डर बम र दुई वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ । विस्फोटक पदार्थ भरिएको दुई वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको हो । ग्यास भरिएका दुई वटा सिलिन्डरलाई थप बुझ्नका लागि भन्दै सेनाले लगेको बताइएको छ । बम डिस्पोजपछि साँझ ५ः३० बजेबाट राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार