सल्यान : सल्यानमा एक आमाले क्रूर अपराध गरेको घटना बाहिरिएको छ ।
जिल्लाको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले प्रेमीलाई आफू अविवाहित रहेको भनेर पुष्टि गर्न आफ्ना दुई छोरीको हत्या गरेको घटना बाहिरिएको हो ।
उनले पुस २४ गते घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।
सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन् । प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो ।
आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको अनुसन्धानबाट खुलेको न्यौपानेले जानकारी दिए ।
पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ ।
पूर्णिमाका श्रीमान टेकबहादुर मजदुरीका लागि घर बाहिर गइरहन्थे । घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे । पूर्णिमाले दुई छोरीको हत्या गर्ने समयमा पनि टेकबहादुर मजदुरीका लागि नुवाकोट गएका थिए ।
हत्याको खबर पाएपछि मात्रै उनी घर फर्किएका थिए । प्रहरीका अनुसार पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्ध थियो ।
अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन् । उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन । तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।
समाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो । दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए । को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेको खुलेको छ ।
पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किएको र भेट्ने समय नजिकिएपछि पूर्णिमाले दुई छोरीको घाँटी थिचेर हत्या गरेको बयानमा बताएकी छन् ।
उनका अनुसार पूर्णिमाले सामाजिक सञ्जालमा चिनेर प्रेम बसेको युवकका लागि छोरीहरूको हत्या गर्नु आफ्नो पागलपन थियो भनेर बयानमा बताएकी छन्।
पूर्णिमालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया