विराटनगर : मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका नेकपा (एमाले) मोरङका जिल्ला सदस्य ४३ वर्षीय अनिलकुमार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ ।
अनिल संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन् ।
जिल्ला अदालत मोरङमा उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका सरकारी वकिलको कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो मागदाबीसहित अनिलविरुद्ध मुद्दा दर्ता भएको बताए ।
अनिल गत पुस २५ गते पक्राउ परेका थिए । प्रहरीले १२ दिनमै अनुसन्धान सकेर मंगलबार वकिल कार्यालयमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो ।
बुढाथोकीले इजलासमा बिहीबार अनिलको बयान हुने जानकारी दिए । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ ।
बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी लिएर वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने बुढाथोकीले बताए ।
अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
पार्टीको कोटामा छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ लिएको बौआलाल बताउँछन् । तर, नाम ननिस्किएपछि उनले पैसा फिर्ता मागे ।
पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले गराएको बौआलालले दिएको बयानमा उल्लेख छ ।
अनिलबाट ठगिएपछि बौआलाल २ वर्षअघि जाहेरी दिन प्रहरी कार्यालयमा पुगे । तर, प्रहरीले जाहेरी दर्ता गरेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए ।
उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले अनिललाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेशले स्वकीयको जिम्मेवारीबाट अनिललाई यसअघि नै हटाइसकेका छन् ।
प्रतिक्रिया