सुप्रिम सहकारी रकम ठगी : रूपन्देहीमा रविको बयान, बिहीबारदेखि थुनछेक बहस

बुधबार, ०९ माघ २०८१
भैरहवा : सुप्रिम सहकारी बुटवलको बचत रकम अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिइएको छ । सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा लामिछानेविरुद्ध आइतबार रूपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका हुन् । जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान लिइएको हो । लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधबार बयान लिने काम सकिएकाले अब बिहीबारदेखि थुनछेक बहस हुने छ । लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यावसायी रूपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानुन व्यावसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ । त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । उनीहरू पनि बहसका लागि रूपन्देही आइपुगेका छन् । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यावसायीले बहस गर्नछन् । इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका आठसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो । २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार