‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’ : अर्थमन्त्री

विहीबार, १७ माघ २०८१
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित आइकनको २८ औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरूले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘हामीले करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहेका छौ तर पछिल्ला कतिपय तथ्यांकहरूले यो कुरा देखाएको छैन । कर प्रणालीमा सुधारको कुरा गर्छौ र तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौ । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै कामहरू गर्न बाँकी छ ।’ पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वसनिय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चोरीहरुलाई प्रवेश हुन नदिनको लागि आइकनले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने पनि उनको भनाइ छ । साथै, उनले सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरूलाई समाधान गर्नको लागि एकसाथ २९ वटा कानूनहरू संशोधन गर्न लागेको बताए । उनले भने, ‘पछिल्लो समय सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरूलाई विस्तारै समाधान गर्दै अगाडि बढ्न चाहिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षण गर्नको लागि पनि सरकारले प्रयास गरिरहेको छ । एकसाथ २९ वटा कानून संशोधन गरेर सुशासन र सवा प्रवाहको सन्दर्भमा भएका समस्याहरू समाधान गर्न सरकार अगाडि बढेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार