विराटनगर : विराटनगर महानगरपालिका–५ विशाल चोकस्थित मामाघर आएकी बालिकाको हत्या गरी शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ । भारतको बिहारस्थित छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादव आफ्ना बाबुआमासँगै करिब एक महिनाअघि मामाघर आएकी थिइन् ।
ससुराली (बालिकाको मामाघर)मै अलिक समय बसेका मृतक बालिकाका बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवले चाँदनीलाई विराटनगरमै राखेका थिए । बाबुआमाले मामाघरमै राखेर गएपछि चाँदनी अचानक बेपत्ता भइन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मामाघर आएकी बालिकालाई छिमेकीहरूले पनि राम्ररी चिन्दथे । तर, करिब १० दिनदेखि उनलाई यहाँ नदेखिएको र गाउँमा बालिका हराएको हल्ला चलेपछि छिमेकीले शुक्रबार बिहान जानकारी गराए । त्यसलगत्तै डीएसपी जोशी नेतृत्वको टोलीले चाँदनीको मामाघर खानतलासी गर्दै सोधपुछ गर्न थाल्यो ।
मामाली हजुरबुवा सरजुग मण्डललाई प्रहरीले नियन्त्रणमा लियो । उनले नातिनी यसअघि नै भारतस्थित घर गइसकेको बताएका थिए । त्यसपछि भारतको छपरामा रहेका बाबुआमासँग प्रहरीले ‘वाट्सएप’मार्फत सम्पर्क गर्यो । बाबु लालमोहन र आमा राजकुमारीले छोरी चाँदनी मावलीमै रहेको प्रतिक्रिया दिए।
‘दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो । थप सोधुपछ गर्दै गएपछि बाबुआमाले छोरी आफूहरूसँगै रहेको भनेर कुरा फेर्न थाले,’ डीएसपी जोशीले भने, ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरूलाई किन चासो पर्योसमेत भनिन् । निर्धक्कसाथ बोलिरहेका हजुरबुवाले वास्तविक कुरा खुलाउनै चाहेनन् ।’ उनका अनुसार हजुरबुबा सरजुगले केही थाहा नपाएजस्तो व्यवहार देखाएको जोशीले जानकारी दिए ।
मावली हजुरबुवा र बाबुआमाको कुरा बाझिएपछि त्यतिबेलै प्रहरी चाँदनीको हत्या भइसकेको निष्कर्षमा पुगेको थियो । त्यसपछि उक्त घर आसपास प्रहरीले निगरानी बढायो । घरदेखि एक सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रूख मात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो भेटियो । वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो ।
त्यो ठाउँमा उत्खनन गर्दा चाँदनीको शव फेला परेको डीएसपी जोशीले बताए । ‘भर्खरै खनेको खाल्डो देखियो । जुन खाल्डोलाई माटोले पुरेर माथिबाट आलो गोबर थुपारिएको रहेछ । त्यसलाई तोरीको गट्टेले छोपिएको थियो । सबै हटाएर हेर्दा बालिकाको शव फेला पर्यो,’ उनले भने ।
हत्या गरेर खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव भेटिएको जोशीले जानकारी दिए । उनका अनुसार चार फिट गहिरो खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव फेला परेको हो । ‘मावली हजुरबुबाले कुरा लुकाए’ उनले भने, ‘तर, सुक्ष्म अनुसन्धान गर्ने क्रममा गाडेको शव पत्ता लगाइयो ।’
सडेर दुर्गन्धित भइसकेको अवस्थामा बालिकाको शव फेला परेको थियो। उत्खनन गर्दै प्रहरीले खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । ‘चाँदनीको हत्या कहिले, कसरी र को को मिलेर गरेका हुन् भन्ने यकिन भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने ।
प्रहरी स्रोतका अनुसार मावली हजुरबुवा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या भएको हुनसक्छ । प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबु र आमाको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ । यद्यपि, अनुसन्धानपछि यकिन हुने जोशीले बताए ।
‘बालिकाको शव फेला परेपनि बाबुआमा, मावली हजुरबुवासहित परिवारका सदस्यले शंकास्पद व्यवहार देखाइरहेका छन् । कसैको पनि कुरा मिल्दैन । बोली नै एकअर्कामा बाझिन्छ । सुरूमा पनि कुरा नै बाझिएकैले घटना पत्ता लागेको हो,’ जोशीले भने ।
घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप सोधपुछ एवं अनुसन्धान गरिरहेको छ । बतासीबाहेक अरू सबै जना एउटै घरमा बस्थे । उनको घर भने सरजुगको नजिकै छ ।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध थियो । ती व्यक्तिसँग छुटाउन उनलाई बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ । मामाघर ल्याउनुको उद्देश्य झारफुक पनि थियो । चाँदनीका मावली हजुरबुवा सरजुग गाउँमा धामी झाँक्रीको काम गर्छन् ।
‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ । योजनाअनुसार नै बाबुआमाले मामाघर लिएर आएका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘बाबुआमा पनि निक्कै दिन बसेर घर फर्किएको पाइयो । तर, मामाघरमै हत्या गरेर गाडेको अवस्थामा चाँदनीको शव भेटियो ।’
मृतक बालिकाका दाजु बबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार चाँदनी एक महिनाअघि मामा घर आएकी थिइन् । उनी भने एक साताअघि सालोको बिहेका लागि ससुराली घर गएका थिए । दुई दिनअघि फर्किएर आफूले बहिनीका बारेमा सोधीखोजी गरेको उनी बताउँछन् ।
‘बहिनी कहाँ गयो ? भनेर सोध्दा, उसकै घर गयो भन्ने जवाफ मलाई दिए । घर गएको होला भनेर मैले खासै वास्ता गरिन । आफ्नो काम गर्न थालें,’ बबिदेवल भन्छन्, ‘उहाँ (भारतमा) एउटा केटासँग ‘लभ’ चल्दैथियो । छुटाउनका लागि यता ल्याइएको हो । अहिले हत्या गरेर गाडेको अवस्थामा शव भेटियो ।’
प्रतिक्रिया