पाँचथर : पाथिभरामा केबलकार निर्माण अघि नबढाउन माग गर्दै पाँचथरको फिदिममा प्रदर्शन भएको छ ।
‘नो कबलकार संयुक्त संघर्ष समिति’को अगुवाईमा प्ले कार्डसहितको नारा जुलुसले फिदिम बजारमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले पाथिभरा मुकुम्लुङ संरक्षण प्रेमीमाथि गोली चलाउन पाइदैँन, असक्षम गृहमन्त्री राजीनामा देउ, धार्मिक क्षेत्रमा व्यापारिकरण गर्न पाइदैँन जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।
जिल्ला समन्वय समिति पाँचथर अगाडिबाट सुरू भएको जुलुस बजार परिक्रमापश्चात फिदिम गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्वोधन गर्दै आदीवासी जनजाती नेता लोकेन्द्र आले मगर, मानव अधिकार संगठन पाँचथरका पूर्व अध्यक्ष सूर्यकुमार निरौला, महिला नेत्री सुनीता केरुङ र अभियन्ताहरू अर्जुनदेव स्याङ्वो र सुवास तुम्बापो लगायतले सम्बोधन गर्दै केबलकार निर्माण प्रक्रिया नरोके आन्दोलन अझै सशक्त बनाउने जिकिर गरे ।
ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघ सस्था र समूहले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
नो केबलकार पक्षधर समूहले माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोरमा आह्वान गर्दै आएको बन्दलाई परिस्कृत गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा पर्ने सबै राजमार्ग बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको हो ।
माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले मागको सम्बोधन नभएको भन्दै बन्दका कारण पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा, तेह्रथुम र संखुवासभालगायतका जिल्लामा बिहानैदेखि प्रभाव देखिएको हो ।
पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प भए । झापाको बिर्तामोड, दमकसहित इटहरी लगायतका ठूला सहरमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर यातायात बन्द गराएका थिए ।
बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूसहित आठ जनालाई पक्राउ गर्नुका साथै अश्रुग्यास प्रहार गरेको आन्दोलनको अगुवाई गरिरहेको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्वापोले बताइन् ।
पाथिभरा मन्दिरमा केबलकार निर्माण गर्ने ठेक्का पाएको प्राइभेट लिमिटेड कम्पनीले काम सुरू गरेपछि त्यो क्षेत्र अशान्त छ । पछिल्लो पटक भएको झडपमा घाइते भएका आन्दोलनकारीको उपचार तथा पक्राउ परेकाहरूलाई रिहाइसँगै पाथिभरा क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरी केबलकार निर्माण प्रक्रिया स्थगित गर्न माग गर्दै बन्दको आह्वान गरिएकोहो ।
माघ २२ गते सम्ममा पनि सरकारले मागको सम्बोधन नगरे आम हड्ताल गर्ने तयारी भइरहेको आदीवासी जनजाती महासघ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।
आदीवासी जनजाती महासंघ, किराँत याक्थुङ चुम्लुङ, १ नम्बर प्रदेश पुनः नामाङ्कन संघर्ष समिति लगायतका संघ संस्था आन्दोलनरत छन् ।
प्रतिक्रिया