इलाममा माघ अन्तिम सातादेखि नवज्योति गोल्डकप

आइतबार, २० माघ २०८१
इलाम : इलामको सन्दकपुर ३ स्थित सुलुबुलुङको लुरिङटारमा हुने फुटबल प्रतियोगितालाई जिल्लाकै पुरानो स्थानीय फुटबल प्रतियोगिताका रूपमा लिइन्छ । यहाँ २०३४ सालदेखि नै प्रतियोगिता सुरू भएको हो । स्वर्गीय टेकबहादुर बुर्जाले २०३४ सालमा आफ्ना छोरा स्वर्गीय गङ्गाबहादुरको पूण्य तिथिमा यो प्रतियोगिता सुरू गरिएको बताइन्छ । पछि २०४९ सालमा नवज्योति खेल सङ्घ स्थापना गरेर पुनः उक्त प्रतियोगितालाई थप व्यवस्थित बनाउन सुरू भएको हो । स्वर्गीय टेकबहादुर मगरले प्रतियोगिता सुरू गर्दा प्रथम र अन्य पुरस्कार कप मात्रै दिइने चलन थियो । पछि दाताहरू बढ्दै गएपछि नगदमा पुरस्कार वितरण गर्न थालिएको नवज्योति खेल सङ्घका पूर्व सचिव ख्याम लुङ्गेली मगरले जानकारी दिए । ०४९ सालमा स्थानीय युवा कमल बुर्जाको अध्यक्षतामा नवज्योति खेल संघ स्थापना भयो । सुरूदेखि नै जिल्ला फुटबल सङ्घमा दर्ता भएको यस सङ्घले त्यसयता निरन्तर प्रतियोगिता गर्दै आइरहेको छ । यसअघि दसैँअघि प्रतियोगिता हुने गरेको थियो । घटस्थापनाको अवसरमा हुँदै आएको प्रतियोगिता बर्खाका कारण सारेर हाल प्रजातन्त्र दिवसका अवसरमा फाइनल खेल हुने गरेको छ । उक्त प्रतियोगितालाई निरन्तरता दिनका लागि स्थानीयको सक्रियता बढ्दै गएको छ । स्थानीय युवा वैदेशिक रोजगारीमा गएर पनि यहाँ आर्थिक सहयोग गर्दै आएका छन् । यहाँ रहेका युवाहरूले प्रतियोगिता सञ्चालनका लागि काँध थापिरहेका छन् । यसैबीच माघ २८ बाट फागुन ७ सम्म नवज्योति गोल्डकप आयोजना गरिने बताइएको छ । प्रतियोगितामा भेट्रान्स र खुल्ला दुई तर्फका खेलहरू सञ्चालन हुने आर्थिक संयोजक गेशव खतिवडाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको खुल्लातर्फ विजेता टिमले नगद एक लाख पाँच रुपैयाँ र उपविजेताले ५० हजार ५ रुपैयाँमा चित्त बुझाउनेछन् । यस्तै, भेट्रान्सतर्फ प्रथम हुने टिमले नगद ३० हजार पाँच हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद १५ हजार पाँच रुपैयाँमा चित्त बुझाउनेछ । यसैगरी विधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र डिफेन्डरलाई नगदसहित पुरस्कार प्रदान गरिने आयोजक नवज्योति खेल सङ्घका संस्थापक अध्यक्ष बुर्जाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार