इलामका सहयोगी हातहरु: कोषमा ५७ लाख नाघ्यो, करोड बनाउने लक्ष

बुधबार, १५ चैत्र २०७९
इलाम । आर्थिक स्थिति कमजोर भएर उपचार गराउन नसक्नेहरुका लागि इलाममा सहयोगी हातहरु नामक संस्था छ । गम्भीर प्रकारका बिरामी भएकाहरुलाई यस संस्थाबाट सहयोग दिइने गरेको छ । संस्थाले अक्षय कोष स्थापना गरेर आवश्यक परेकालाई आर्थिक सहयोग गर्दै आएको छ । संस्थाको अक्षय कोषमा ५७ लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ । कोषमा रकम बढाएर एक करोड बनाउने लक्ष्य संस्थाको छ । व्यक्तिगत सहयोग गर्दा उपचार गराउनेका परिवारले धेरैतिर धाउनुपर्ने, सय र पचास जुटाउँदै हिँदा झन्झट हुने भएपछि इलामका समाजसेवी रतनकुमार चौधरीको नेतृत्वमा यो संस्था सञ्चालित छ । २०७२ सालमा स्थापना भएको यो संस्थामा सात वर्षमा सो रकम जम्मा भएपछि यसलाई बढाउन सके अझ वढी सहयोग गर्न सकिने बताइएको छ । सहयोग माग्न आउनेलाई सम्वन्धित वडा तथा पालिकाको सिफारिस बनाएपछि नगद पाँच हजार वितरण गर्ने गरिन्छ । उपचार गर्ने पैसा नभएर अस्पतालको शैयामा छटपटाउँदै आएका बिरामीलाई आर्थिक सहयोग गर्ने हेतुले संस्थाको स्थापना भएको अध्यक्ष रतनकुमार चौधरीले बताए । संस्थाले हालसम्म गरिब, असहाय, बिपन्न अवस्थाका २ सय ३७ जना बिरामीलाई आर्थिक सहयोग गरिसकेको संस्थाकी सचिव रिता अधिकारीले बताइन् । संस्थाले ५ देखि ६ हजार रुपैंयाँसम्म आर्थिक सहयोग गर्दै आएको संस्थाकी कोषाध्यक्ष गोपाल पौडेलको भनाई छ । इलाममा पछिल्लो समय कडा (नसर्ने रोग) भएका बिरामीका थपिँदै गएको तथ्यांकमा उल्लेख छ । इलाम अस्पतालमा समेत उच्च रक्तचाप र मधुमेहका बिरामी बढी आउने गरेको इलाम अस्पतालले जानकारी दिएको छ । खानपान नमिल्दा यस किसिमको बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको भनाई छ । संस्थाले भर्खरै छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोषाध्यक्ष पौडेलद्धारा प्रस्तुत गएिको आर्थिक प्रतिवेदन अनुसार संस्थामा हाल २९ लाख ६० हजार रुपैंयाँ सहित संस्थाको अक्षय कोषमा ५७ लाख ५५ हजार रुपैंयाँ छ । अक्षय कोषमा एक करोड पुर्याउने लक्ष्य रहेको बताइएको छ । संस्थाले लिएको यो अपेक्षलाई साकार बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गरिएको छ । संस्थाका संस्थापक एवं सल्लाहकार हिमालय कर्माचार्यले गरिव र असाहायका परिवारलाई उपचार गराउन सहयोग मिल्ने भएकाले हुनेलाई सहयोग गर्न आग्रह गर्नुभयो । पछिल्लो समय इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठ, इलाम नगरपालिका ९ की कल्पना ओली र इलाम चोक बजारका ओमप्रकाश लखौटियाले संस्थाको कोषमा एक–एकलाख जम्मा गर्ने बताएका छन् । संस्थाको अक्षय कोषमा रकम जम्मा गर्ने २५ जना र आजिवन सदस्य गरेर ९१ जना आबद्ध रहेको अध्यक्ष चौधरीले जानकारी दिए । सबैलाई सहयोग गर्ने भएकाले इलाम नगरपालिकाका मेयर केदार थापाले पवित्र संस्थालाई सहयोग गर्न उनले समेत आग्रह गरे । संस्थाले हालसम्म गरेको कार्य उदाहरणिय बनेको भन्दै यस संस्थाले धेरैलाई सहयोग गरेको बताए । इलाममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सरकारकोे पुरक संस्थाको रुपमा यस संस्थाले काम गर्दै आएकोले यस संस्थालाई माथि उठाउन सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय बिभिन्न संघसंस्था बैंक तथा बित्तिय संस्थाबाट समेत समेत सहयोग भइरहेको छ । ब्यक्तिहरुले समेत संस्थाको कोषमा सहयोग गर्दै आएका छन् । जन्मदिनमा गरिने फजुल खर्च, बिबाह वर्षगाँठ, उत्सवमा गरिने अनावश्यक खर्चलाई जोगाएर समेत यस संस्थालाई सहयोग गर्न सके अरु गरिव र अशाहायलाइ सहयोग मिल्ने थियो । जिल्लाबासीलाई अस्पतालको बेडमा रकम नभएर छट्पटाइरहेको अवस्थामा उपचार गराउन सहयोग गर्ने उदेश्य बोकेर स्थापना भएको संस्थाले पछिल्लो समय ठुलो उदेश्य लिएको छ । संस्थाले लिएको महान उदेश्यलाई सहयोग गर्न दानविर महानुभावप्रति हाम्रो पनि अपिल छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार