गोरे जोडिएको सुन मुद्दा : एक जना दोषी ठहर, थप आठ जनालाई सफाइ

सोमबार, २१ माघ २०८१
विराटनगर : मोरङको उर्लाबारीका सनम शाक्य हत्या एवं करिब ३८ क्वीन्टल सुन तस्करीसँग जोडिएको मुद्दामा थप आठ जनाले सफाइ पाएका छन् भने एक जना दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २३ गते मुद्दाको फैसला गरेको हो । मुद्दाका प्रतिवादीमध्ये कालु, भनिने कृष्णगोपाल अग्रवाल, एमके मामा भनिने मोहनकुमार अग्रवाल, बाले भनिने सुनीलकुमार अग्रवाल, रमेश उप्रेती, प्रयास पराजुली, सन्दीप खड्का, अर्जुनप्रसाद पोखरेल, आरबी भनिने रक्षा भण्डारीले सफाइ पाएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार आठ जनाले भन्सार ऐन र संगठित अपराध निवारण ऐनको दाबीबाट सफाइ पाएका हुन् । यो दाबीबाट उनीहरूसहित भविन राई भनिने भविन तामाङले पनि सफाइ पाएको बुढाथोकीले जानकारी दिए । तर, भविनलाई कर्तव्य ज्यान मुद्दामा भने अदालतले दोषी ठहर गरेको छ । भन्सार ऐन र संगठित अपराध निवारण ऐनको दाबीबाट सफाइ पाएका उनलाई कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद सजाय हुने फैसला भएको बुढाथोकीले बताए । उनका अनुसार मुद्दाको फैसला हुनुअघि नै पुर्पक्षका लागि थुनामा पठाइएका भविन सजाय भुक्तान गरेर यही माघ ४ गते छुटिसकेका छन् । मूल र पुरक अभियोग गरेर मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । बुढाथोकीका अनुसार ७७ जनामध्ये पक्राउ परेका र अदालतमा आफैं हाजिर भएका ५६ जनाको हकमा २०७८ सालमै मुद्दाको फैसला भइसकेको छ । फरार रहेका २१ जनाको मुद्दालाई अदालतले मुलतबीमा राख्यो । हालसम्म मुद्दाका अभियुक्त १२ जना अझै फरार छन् । फरार रहेकाको मुद्दा मुतलबीमै रहने र उपस्थित भएपछि फैसलातर्फ अघि बढ्ने उनको भनाइ छ । उनका अनुसार अब मुद्दामा पूर्णरूपले सफाइ पाउनको संख्या ५६ पुगेको छ । यसअघि २०७८ साल असोज १९ गते पहिलोपटक मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश भरत लम्सालको इजलासले ८ जनालाई दोषी ठहर गरेको र ४८ जनालाई सफाइ दिएको सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार दोषी ठहर भएकाहरुको सजाय निर्धारण भने २०७८ कात्तिक ८ गते गरियो । त्यतिबेला दोषी ठहर भएकामध्ये ६ जनालाई जन्मकैदको फैसला भयो । सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे भनिने मोरङ उर्लाबारीका चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसुर कायम हुँदा अरुले सफाइ पाएका थिए । मुद्दाको फैसला पहिलोपटक हुँदा प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको थियो । मुद्दामा दोषी ठहर भएकामध्ये लाक्पा शेर्पा, भारतीय नागरिक राजन कुमार र मदनप्रसाद घिमिरेबाहेक अरुले जिल्ला अदालतको फैसला चित्त नबुझेको भनेर उच्च अदालत विराटनगरमा पुनरावेदन गरिसकेका छन् । तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो । २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो । सनमको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कारपिओ र मे १ च ५३९८ नम्बरको कार प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको थियो । राजन कुमार पनि गोरेका सवारी चालक हुन् । हराएको सुन खोज्ने क्रममा उनैले चलाएको गाडीमा बसेर गोरे काठमाडौंबाट उर्लाबारीसम्म आएको अनुसन्धानबाट खुलेको थियो । घिमिरे सनमको हत्या हुनुभन्दा अघि घटनास्थल पुगेको खुल्यो । हत्यामा उनको प्रत्यक्ष संलग्नता भने देखिएन । गोरेको गिरोहले घिमिरेकै घरमा अड्डा जमाएर हराएको सुन खोज्नेदेखि लिएर अरु गतिविधि सञ्चालन गर्ने गरेको पत्ता लाग्यो । भण्डारी सनमको हत्या हुँदा घटनास्थलमै उपस्थित रहेको अनुसन्धानबाट खुलेको छ । मुद्दा दर्ता भएका बेला फरार रहेका उनी मुद्दाको फैसला हुनुभन्दा ६ महिनाअघि मात्रै अदालतमा हाजिर भएका थिए । फैसलाअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । दोषी ठहर भएकाहरुको हत्यामा कुनै न कुनै हिसाबले संलग्नता पुष्टि भएको थियो । सुन तस्करका भरिया रहेका सनमको हत्या भएको घटनाको अनुसन्धान थाल्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी एवं प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको पत्ता लागेको थियो । हराएको भनिएको तस्करीको सुन हालसम्म फेला परेको छैन । सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा ६३ जनालाई प्रतिवादी बनाउँदै २०७५ वैशाख १९ गते पहिलोपटक जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । त्यसपछि अन्य अभियुक्तविरुद्ध पुराक अभियोग दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार